
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार सार्वजनिक गरिएको एक वक्तव्यमार्फत उनले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पद त्याग गरेको जानकारी दिएका हुन्।
विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक तहबाट उठेका प्रश्न र टिप्पणीलाई सम्बोधन गर्दै गुरुङले ‘नैतिकताको आधार’मा राजीनामा दिएको बताएका छन्। चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देशमा उनले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो हुने उल्लेख गरेका छन्। ‘देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ,’ उनले भनेका छन्।
गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। साथै, उनले सञ्चारकर्मीहरूतर्फ संकेत गर्दै केही मिडियाकर्मीहरूका पनि विभिन्न क्षेत्रमा ‘स्वीट शेयर’ रहेको दाबी गरेका छन्, जुन क्रमशः सार्वजनिक हुने उनले बताएका छन्।
प्रतिक्रिया