काठमाडौं। आगामी केही दिन देशका विभिन्न स्थानहरूमा हावाहुरी, मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले विशेषगरी कृषकहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र केही स्थानमा हिमपात समेत हुने सम्भावना रहेको छ।
कोशी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने, अन्य प्रदेशहरूमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम बिभागका अनुसार भोली शुक्रबार कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटफुट पानी, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
अहिले गहुँ, मसुरोजस्ता बाली भित्र्याउने समय भएकाले पानीले बालीमा क्षति पुग्न सक्ने जोखिम रहेको मौसमविद्हरूले बताएका छन्। मौसमविद् हरिप्रसाद दाहाल भन्छन्, “कृषकहरूले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्छ।”
अत्यावश्यक कामका लागि बाहिर जानुपरेमा छाता वा रेनकोट लिएर निस्कनु, हिमाली क्षेत्रका बासिन्दाले सवारीसाधन र यात्रामा सतर्कता अपनाउनु, र कृषकहरूले मौसमको अद्यावधिक जानकारी लिएर मात्र बाली भित्र्याउनु उपयुक्त हुने मौसमविद्हरूको सुझाव छ।
प्रतिक्रिया