• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सुमनाको राजीनामा- सहकारी ठग’को ट्याग चिर्न सकेनौँ, रास्वपा पुराना दलभन्दा फरक हुन सकेन

    13K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सह-महामन्त्री पदबाट राजीनामा दिएकी छन् । श्रेष्ठले चैत्र १७ गते नै सभापति रवि लामिछाने पार्टी काममा फर्किएकै दिन राजीनामा बुझाएकी थिइन् । तर रवि सहकारी प्रकरणमा जेल चलान भएको डेढ सातापछि राजीनामा प्रकरण बाहिरिएको हो ।

    उनले देशको चौथो ठूलो दलको महत्वपूर्ण पद त्याग गर्दा अनावश्यक चर्चा नहोस् भन्दै राजीनामा गर्नुका पछाडिका कारण पनि खुलाएकी छन् । उनले पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिनुका तीन कारण उल्लेख गरेकी छन् । जसमा पहिलो कारणका रुपमा उनले ‘एक व्यक्ति एक पद’को एजेन्डालाई अघि सारेकी छन् ।

    दोस्रो कारणका रुपमा उनले ‘पार्टीमाथि जनताको ठूलो आश, डेलिभरि दिने क्षमता शून्य’लाई उल्लेख गरेकी छन् । त्यसैगरी तेस्रो कारणका रुपमा सुमनाले पार्टीभित्रको‘धेरै कर्मकाण्डी प्रक्रिया’मा असन्तुष्टि जनाएकी छन् । प्रतिनिधिसभाकीसांसद सुमनाले पदको लोभ नेपालका पुराना पार्टी र नेपाली समाजमै गढेको एक प्रथाका रुपमा रहेको उनको बुझाइ छ ।

    ‘पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नु पर्दा नेपाली समाजमै गढेको एक प्रथा हो’, उनले भनेकी छन्, ‘संघीय सांसद हुँदा मैले पार्टीको अर्को महत्वपूर्ण जिम्मेवारी लिदाँ पद भई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ, जुनसँग मेरो गहिरो विमति छ । अन्य पार्टीभन्दा हामीभिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन ।’ उनले एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्ने निष्कर्ष निकालेकी छन् ।

    ‘संघीय सांसदले मूलभूत रुपमा पेश भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालासँग छलफल गर्ने, आवश्यक संशोधन पेश गर्ने, समसामियक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरू स्थापित गर्नुपर्ने हुन्छ’, उनले राजीनामा पत्रमा भनेकी छन्, ‘यसबाहेक शिक्षा सूचना प्रविधि संसदीय समितिको भूमिका त छँदैछ । सह-महामन्त्रीका रूपमा पार्टी संगठन निर्माण लगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव छैन ।’

    सुमनाले पार्टी सहमहामन्त्री र सांसद पद दुवै पूर्णकालीन पद भएकाले समय व्यवस्थापन मुस्किल हुने बताएकी छन् । ‘यी दुवै पूर्णकालीन पद हुन् । दुवै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुवैतर्फको जिम्मेवारी पूरा मेरो अनुभवले बताउँछ’, उनले थपेकी छन्, ‘संसदीय भूमिकामै मेरो सम्पूर्ण समय व्यतित हुन्छ, सह-महामन्त्रीले गर्न पर्ने काम प्रभावकारी हुन नसकेको मेरो ठम्याइ छ ।’

    उनले पार्टीमाथि जनताको ठूलो आश रहे पनि नतिजा दिने क्षमता शून्य रहेको बताएकी छन् । ‘जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो, त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ । मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ’, उनले थपेकी छन्, ‘तर दलको प्रस्तुति सोचे जस्तो सशक्त नभएको गुनासो छ । पुराना दलले हाम्रो पार्टीलाई लगाएको सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको नारा मात्र अघि बढायौँ । पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरू सबैलाई राखेर सामान्य तथ्याङ्क संकलनको काम दिँदा पनि कसैले केही नगरेको स्पष्ट हुन्छ । हामीले पार्टी बन्नका लागि र डेलिभरी दिन कति लामो यात्रा तय गर्नुपर्ने छ । यसको एउटा कारण एकै व्यक्तिलाई धेरै जिम्मेवारी दिनु पनि हो भन्ने मेरो ठम्याई छ ।’

    सुमनाले पार्टी धेरै नै कर्मकाण्डी बन्दै गएको बताएकी छन् । उनले पार्टी बैठकमा पदाधिकारीहरूलाई चाहिनेभन्दा धेरै महत्व दिने गरेकोमा पनि असहमति जनाएकी छन् ।

    ‘बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिने भन्दा बढी महत्व दिइन्छ । यस्तो संस्कारले नयाँ कुराको विकास नहुने र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने रहेछ’, उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘व्यवस्थापन परामर्शदाताका रुपमा विभिन्न प्रकारको संगठन संरचना देखेको छु। वैकल्पिक राजनैतिक दलका रुपमा स्थापित हुन खोजेको हाम्रो पार्टीमा पदानुक्रम सबैभन्दा प्रभावकारी हुने मेरो धारणा छ । जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ । जहाँ उमेर वा ओहोदामा ठूलो सानो हेरी सबैको विचारलाई उत्तिकै महत्व दिएर मनन गरिन्छ ।’

    उनले पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय हुँदा पनि पदाधिकारी भएरसमेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारिक श्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएको पनि गुनासो गरेकी छन् ।

    ‘पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ । कयौं पटक विभिन्न बैठक बसौँ भन्दासमेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौँ भन्दा पनि नसुनिनेसमेत अवस्था देखेँ’, सुमनाले भनिन्, ‘यसकारण यस्तो महत्त्वपूर्ण पद यसरी हलुका नबनाइदिनुहुन पनि आग्रह गर्छु ।’

    उनले पार्टीले आफूमाथि ठूलो आशा गरी दिएको पद त्याग गर्नुलाई हल्का रुपमा नलिएको बताएकी छन् । ‘यसले उब्जाउने थप केही प्रश्नको पनि म अग्रिम उत्तर दिएर स्पष्ट पार्न चाहान्छु’, उनले भनेकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ