काठमाडौं । शुक्रबार अपराह्न कोटेश्वरमा एक सादा पोशाकका व्यक्तिले पेस्तोल ताकेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसबारे प्रहरीले अनुसन्धान गर्दै जाँदा नयाँ तथ्य फेला पारेको छ।
प्रदर्शनकारीहरूले ‘आन्दोलनमा घुसपैठ भयो’ भन्दै उक्त तस्वीर भाइरल बनाए पनि ती व्यक्ति लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी रहेको खुलेको छ।
शुक्रबार प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गर्दै कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्यूरोको कार्यालय अगाडि रोकेको सरकारी गाडीमा आगो लगाएका थिए। त्यसक्रममा भिड ब्यूरोभित्र पसी आगजनी गर्न खोजेपछि त्यहाँ तैनाथ एक प्रहरी अधिकारीले पेस्तोल निकालेर सुरक्षाका लागि पोजिसन लिएको देखिएको हो।
ब्यूरोका एक उच्च अधिकृतका अनुसार, ‘प्रदर्शनकारीहरूले प्रहरीको गाडी जलाएपछि भिड ब्यूरोमा छिर्न खोज्यो। त्यसैले प्रहरीले आत्मरक्षाका लागि पोजिसन लिएको थियो। तर, स्थिति नियन्त्रण बाहिर गएपछि हाम्रा प्रहरीहरू नै भाग्न बाध्य भए।’
प्रदर्शनकारीहरूले पेस्तोल ताक्ने प्रहरीलाई लखेटेका थिए। यद्यपि, प्रहरीको सतर्कताका कारण भिड ब्यूरोभित्र प्रवेश गर्न सकेन।
यो घटनापछि आन्दोलनकारीहरूद्वारा फैलाइएका ‘घुसपैठ’ सम्बन्धी हल्लाहरू गलत रहेको पुष्टि भएको छ। प्रहरीले हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएको छ।
प्रतिक्रिया