• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

    2.1K
    SHARES



    काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा १४ अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ।

    सार्वजनिक लेखा समितिको निर्देशनमा गठन भएको उपसमिति संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा तयार पारिएको प्रतिवेदनले विमानस्थल निर्माणको नाममा नीति निर्माणदेखि ठेक्का प्रक्रिया, कर छुट, लागत वृद्धि लगायतका चरणहरूमा गम्भीर आर्थिक अनियमितता भएको उल्लेख गरेको छ।

    लिङ्देनका अनुसार विमानस्थल निर्माणमा सुरुको ठेक्का प्रक्रिया नै अपारदर्शी र अनियमित रहेको छ। साथै, सार्वजनिक खरिद ऐन तथा अन्य प्रचलित कानुनहरूको उल्लंघन गर्दै भ्रष्टाचारलाई वैधता दिने नियतसहित नीतिगत निर्णयहरू लिइएको पाइएको छ।

    प्रतिवेदनमा लेखिएको छ,- “मूल सम्झौताविपरीत पटक–पटक नयाँ कार्यान्वयन सम्झौता गरी २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबरको कर छुट दिइएको, जसमा २ अर्ब २० करोड रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी भएको छ।”

    उपसमितिको निष्कर्ष अनुसार, पोखरा विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रियामा चरणबद्ध ढंगले लुटपाट गरिएको छ। प्रारम्भिक लागत निर्धारणदेखि ठेक्का दिने तरिका, प्राविधिक मूल्यांकन, कर छुट, कार्यान्वयन सम्झौता परिवर्तन लगायतका चरणहरूमा एकपछि अर्को अनियमितता देखा परेको छ।

    चीनको एक्जिम बैंकबाट महँगो ब्याजदरमा लिइएको ऋणमार्फत निर्माण भएको यो विमानस्थल हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ बराबरको ऋण लिएकोमा सञ्चालनमा ढिलाइ हुँदा सरकारले ऋण भुक्तानी गर्न समेत समस्या भोगिरहेको छ।

    उपसमितिले सार्वजनिक लेखा समितिमा पेश गर्न तयार पारेको प्रतिवेदनमा सम्बन्धित पक्षहरूलाई कानुनी दायरामा ल्याउन र दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न सुझाव दिइएको छ। साथै, विमानस्थललाई छिटो पूर्ण सञ्चालनमा ल्याई व्यावसायिक प्रयोग बढाउन सरकारलाई सिफारिस गरिएको छ।

    उपसमितिमा राजेन्द्र लिङ्देनसँगै सांसदहरू गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, दीपक गिरी, रामकृष्ण यादव, रुक्मणी राना र देवप्रसाद तिमिल्सिना सदस्य रहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ