काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले ‘रोयल टास्क फोर्स (आरटीएफ)’ का कमाण्डर मुनिन्द्र राजभण्डारी लाई पक्राउ गरेको छ। उनलाई आज बिहान बालाजु क्षेत्रबाट विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
हिजोको तिनकुने प्रदर्शनका क्रममा आरटीएफ समूहको सक्रिय भूमिका देखिएको थियो। प्रहरीका अनुसार मुनिन्द्र राजभण्डारी ‘रोयल टास्क फोर्स (आरटीएफ)’ का कमाण्डर हुन्, जसले प्रदर्शनलाई उग्र बनाउन भूमिका खेलेका थिए ।
राजभण्डारीले घटनापछि सामाजिक सञ्जालमा राज्यलाई नै दोषी देखाउने स्टाटस लेखेका थिए, जसले विवाद चुलिएको थियो। उनले फेसबुकमा लेखेका थिए। – “पत्रकारको मृत्यु राज्यपक्षकै कारण भएको हो। दोषी सरकार र यसको दमनकारी नीतिहरू हुन्।” प्रहरीका अनुसार यस्ता अभिव्यक्तिहरूले घटना थप उग्र बन्ने सम्भावना रहेको देखिन्छ।
प्रहरी स्रोतका अनुसार राजभण्डारीसहित अन्य केही व्यक्तिहरू पनि निगरानीमा छन्, र अनुसन्धानपछि थप पक्राउको सम्भावना रहेको छ। यसअघि पनि प्रदर्शनका क्रममा हिंसा भड्काउने प्रयास गरेको आरोपमा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको थियो।
शुक्रबार राजावादी समूहले तीनकुनेमा प्रदर्शन गरेको थियो, जसमा राजा फेरि सत्तामा फर्किनुपर्ने मागसहित सरकारविरोधी नाराबाजी गरिएको थियो। प्रदर्शनमा हजारौं समर्थक सहभागी भएका थिए। तर, प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।
प्रदर्शनकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीका अनुसार केही प्रदर्शनकारीले ढुंगा, लाठी तथा अन्य हतियार प्रयोग गरेर आक्रमण गरेका थिए। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
यस्तै तिनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई पक्राउ गर्नको लागि प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ। उनि हिजो प्रदर्शन स्थलबाट प्रहरीलाई छल्दै फरार भएका थिए।
प्रतिक्रिया