काठमाडौं । तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाई इमाडोलस्थित विवादास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा आश्रय लिएको खुलेको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, प्रहरी टोलीले शनिबार बिहान खतिवडालाई पक्राउ गरेपछि उनले दुर्गा प्रसाई आफ्नो घरमा आएको स्वीकारेका छन्।
प्रारम्भिक बयानमा खतिवडाले प्रसाई केही समय त्यहाँ बसेर स्याउ र केरा खाएर निस्किएको बताएका छन्। खतिवडा स्वयं पनि शुक्रबारको प्रदर्शनमा भिडलाई उत्तेजित पार्न सक्रिय रहेको र सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं प्रहरीलाई बुझाउने तयारी गरेको छ।
प्रदर्शनमा संलग्न नेताहरू पक्राउ
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनले उग्ररूप लिँदा दुई जनाको मृत्यु र २२ जना घाइते भएका थिए। प्रहरीले आन्दोलनको नेतृत्व गरेका राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाललगायतलाई नियन्त्रणमा लिइसकेको छ।आन्दोलनका संयोजक ८६ वर्षीय नवराज सुवेदीलाई भने स्वास्थ्यका कारण घरमै निगरानीमा राखिएको छ।
दुर्गा प्रसाईंको खोजी जारी
‘जनकमाण्डर’ भनिने दुर्गा प्रसाई अझै फरार छन्। प्रहरीले उनीविरुद्ध व्यक्ति हत्या तथा संगठित अपराधका अभियोगमा अनुसन्धान अघि बढाएको छ। सुरक्षाकर्मीको हत्या प्रयास, आगजनी, तोडफोड, र राज्यविरुद्धको षड्यन्त्रमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिसकेको छ।
प्रतिक्रिया