काठमाडौँ । आईसीसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत आज शनिबार नेपाल र अफगानिस्तानले अंक बाँड्दा नेपाल अभागी साबित भयो । वर्षाले खेल रद्द भएपछि अफगानिस्तान विश्वकपमा पुग्यो भने नेपाल बाहिरियो ।
यस्तोमा नेपाल विश्वकपबाट वञ्चित भएपछि खेल हेर्न पुगेका दर्शकहरू आक्रोशित बनेका छन् । बिहानैदेखि मैदानमा उपस्थित भएका उनीहरू मैदान सुकाउने काम हुँदा खेल हुनेमा आशावादी थिए । तर खेल हुन सकेन । खेल खेलाउन मैदान पूर्ण रूपमा सुकेन ।
खेल नै नभएपछि समर्थकहरूले क्यान, एसीसी र आईसीसीविरुद्ध नाराबाजी नै गरे । खेल खेलाउन नसकेको उनीहरूको आरोप थियो । क्यानप्रति भने उनीहरूले मैदान कमसल भएको आरोप लगाएका थिए ।
लिग चरणमा नेपाल र अफगानिस्तान दुवैले सुरूवाती तीन तीन खेलमा जित निकालेका थिए। दुवै टोलीले लिग चरणमा युएई, हङकङ र ओमानलाई हराएका थिए।
रनरेटमा भने अफगानिस्तानअघि थियो। त्यही रनरेटको फाइदा उठाउँदै अफगानिस्तान सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुँदा नेपाल भने स्तब्ध बन्यो। अफगानिस्तानको रनरेट ४.८१७० रहँदा नेपालको ३.५७६४ थियो।
एसिया छनोटबाट एक टोलीमात्र विश्वकपमा पुग्ने व्यवस्था छ। नेपाली युवा टोलीले सन् २००० मा पहिलोपटक आइसिसी यू-१९ विश्वकप खेलेको थियो। त्यसयता नेपालले आठ पटक यू-१९ विश्वकप खेलिसकेको छ।
नेपालले २००० देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको नेपालले त्यसपछि सन् २०१२ र २०१६ को विश्वकपमा पनि प्रतिस्पर्धा गरेको थियो।
पछिल्लो पटक नेपालले सन् २०२४ को विश्वकप खेलको थियो। दक्षिण अफ्रिकामा भएको विश्वकपमा प्रतिस्पर्धा गर्नुअघि नेपालले युएईमा भएको विश्वकपमा छनोटमा उत्कृष्ट प्रदर्शन गरेको थियो।
घरेलु टोली युएईलाई निर्णायक खेलमा ७ रनले हराएपछि नेपालले विश्वकपमा स्थान बनाएको थियो। जित नजिक पुगेको युएईलाई स्तब्ध पार्ने क्रममा नेपालक दिपेश कँडेलले पछिल्ला तीन विकेट लिँदा ह्याट्रिक गरेका थिए। उनले खेलमा पाँच विकेट लिएपछि नेपालले आठौं पटक विश्वकप खेल्ने पक्का भएको थियो।
यसपटक पनि अफगानिस्तानको चुनौती पन्छाउन नेपालले राम्रो तयारी गरेको थियो। वीरगन्जमा दिल्लीको यू-१९ टोलीसँग तीनको अभ्यास सिरिज खेलेपछि नेपालले मुलपानीमै अफगानिस्तान तीन खेलको एकदिवसीय सिरिज खेलेका थियो।
तल्लो मुलपानी मैदानमा भएको सिरिजको सुरूवाती खेलमा नेपालमाथि अफगानिस्तान हाबी भएको थियो। यद्यपी दोस्रो र तेस्रो खेलमा नेपालले पुनरागमन गर्यो। दोस्रो खेलमा एक रनले पराजित भएको नेपालले अन्तिम खेलमा जित निकालेको थियो।
अफगानिस्तानसँग मुलपानी मैदानमा अभ्यास सिरिज खेल्दा फाइदा पुगेको नेपालका कप्तान नरेन भट्टले बताएका थिए। तर नेपालको तयारीमा मौसम बाधक बन्यो र निर्णायक खेल हुन सकेन। जसका कारण नवौं पटक नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भयो।
प्रतिक्रिया