काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको ‘वर्तमान राजनैतिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता कञ्चनले राजनीतिक अस्थिरता र संसदीय व्यवस्था नै समस्याको प्रमुख जड भएको बताएका हुन् ।
संसदीय व्यवस्था भएका विश्वका अरु देशहरुमा संसदीय प्रणालीमा दलको बहुमत हुने र सत्ता संचालन गर्ने भए पनि नेपालमा संसदीय प्रणालीमा पार्टीहरुले बहुमत हासिल गर्न नसक्ने अवस्था रहेको भन्दै त्यसको परिणाम एकातिर अराजकता र अर्कोतिर निरङ्कुशता देखा परेर अस्थिरता उत्पन्न हुने गरेको उनले प्रष्ट पारे ।
‘अरु देशमा संसदीय प्रणालीमा पार्टीको बहुमत हुन्छ तर नेपालमा खासगरी किन यो संसदीय व्यवस्था अत्यन्तै अस्थिर छ भने यहाँ कसैको बहुमत हुन सक्दैन ।’ उनले भने- ‘संसदीय व्यवस्थाभित्र स्थिरता दिन कोसिस गरे पनि त्यहाँ कुनै पनि हालतमा बहुमत हुदैन, भइहाल्यो भने पनि नेपालको जुन अर्थ प्रणाली छ, आर्थिक आधार या उत्पादन सम्बन्ध छ, त्यसले अराजकता र निरङ्कुशता नै पैदा गर्छ । नेपालमा यो प्रकारको राजनैतिक चरित्र छ ।’
अहिले नेपालमा १५ महिनाको अवाधिमा ३ पटक सत्ता समीकरण परिवर्तन भएको उदाहरण दिंदै उनले भने- ‘यो अस्थिरताको पराकाष्ठा हो ।’ सत्ताधारी दलहरु नै यो व्यवस्थाले हुँदैन भन्दै भाषण गर्ने र फेरी पनि त्यहि व्यवस्थाभित्र कुर्सी टिकाउन र विदेसी शक्तिलाई खुसि पार्न नयाँ नयाँ समीकरण बनाउनमै लागिरहेको उनको भनाइ छ । साथै भोलि हेरौ, पर्सी हेरौ भनेर या कामना गरेर यो अवस्था सुध्रिन नसक्ने भन्दै उनले यो व्यवस्थालाई नै आमुल परिवर्तन गर्न र संसदीय व्यवस्थाको पूर्णरुपले अन्त्य गर्न जरुरी रहेको प्रष्ट पारे ।
पछिल्लो चरणमा देशको स्वास्थ्य, शिक्षा, सांस्कृतिक मुल्यमान्यता, मानवीय जीवन चक्र र उत्पादन पद्दतिलगायतका सबै क्षेत्रमा केहि मुट्ठीभर मान्छेहरुको सिन्डिकेट र कर्टेल चलिरहेको समेत उनले ठोकुवा गरे । ‘यहाँ १२/१३ वटा ग्रुपहरु छन्, जस्तै सिजी ग्रुप, गोल्छा ग्रुप, सांघाई ग्रुप भन्ने छ, यी र यस्तै ग्रुप्रहरुको सम्पतिमाथिको करिब ७५ प्रतिशतभन्दा बढी होल्ड उनीहरुको कब्जामा छ ।’ उनले भने- ‘देशका उद्योग, व्यापार, बैङ्किङ, जमिन, स्वास्थ्य, शिक्षा क्षेत्र, उड्ड्यान क्षेत्र, कर्मचारी (नोकरशाही) क्षेत्र (न्याय र सुरक्षा प्रणाली) लगायतका क्षेत्रभित्र यी १२/१३ वटा ग्रुपहरुको सिन्डिकेट छ । अरु कोहि नेपाली त्यहाँ छिर्न सक्दैन, यदि छिरिहालेछ भने पनि त्यसले स्वाभिमान तरिकाले काम गर्न सक्दैन र उ पनि त्यहाँ हिस्सेदार बन्छ ।’
साथै नेपालको संसदीय राजनीति पनि अहिले यस्तै ग्रुपहरुको प्रभावमा रहेको प्रष्ट पार्दै नेता कञ्चनले जनप्रतिनिधि भएर त्यहाँ गएको मान्छे पनि लाचार बनेर जनतालाई छक्याउने र झुक्याउने खेलमा लाग्ने गरेको बताए । प्रचण्डले अहिले वाम एकताको कुरा गरेको प्रसंग निकाल्दै नेता कञ्चनले सोधे – ‘के हो त्यो वाम एकता भनेको ? त्यो वाम एकता भनेको संसदवादीहरुको एकता हो जसले आउँदो चुनावमा भोट जम्मा गरेर मलाई सहयोग गरोस भन्ने उदेश्यबाहेक अरु केहि होइन ।’
४ बर्षपछि हुने चुनावको प्रचारमा दलहरु अहिले नै लागेको भन्दै यो अवस्थालाई उनले व्यवस्थाको संकटको संज्ञा दिएका छन् । अहिलेको सरकार बनेपछि देशमा नोकरशाही दलाल पुँजीवादको पूर्णरुप देखिएको र यहि कारण देश सकिने अवस्थामा पुगेको उनले बताए ।
तसर्थ यस प्रकारको अवस्था अन्त्य गर्न राजनीतिक परिवर्तन अपरिहार्य भएको उनको तर्क छ । ‘दलालका बिरुद्ध संघर्ष छेडेर देशभक्त जनवादी तथा क्रान्तिकारीहरुको सरकार बनाउनु पर्यो, संसदमा नभएका सबै पार्टीहरु जसले संसदीय व्यवस्थाको बिरोध गर्दछन र राष्ट्रिय स्वाधिनता चाहन्छन, यो संविधानको अन्त्य चाहन्छन र राष्ट्रिय पुँजीको बिकास र रक्षा चाहन्छन र जसले परिवर्तन चाहन्छन ति सबै पार्टीहरु मिलेर सडकबाट देशभक्त जनवादी तथा क्रान्तिकारी सरकार बनाउने र सिंहदरबारको सरकारलाई सडकमा पछार्ने र जनताको सरकार स्थापना गर्ने प्रकृयाको बिकास गर्नुपर्यो ।’
प्रतिक्रिया