काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वमा बनेको सरकारले भारत र चीनसँग सन्तुलित र सौहार्दपूर्ण सम्बन्ध विस्तार गरेको दाबी गरेका छन्। उनले आफ्नो कार्यकालमा थुप्रै ऐतिहासिक निर्णयहरू भएको उल्लेख गरे।
मंगलबार नवलपुरको कावासोतीमा हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको पक्षमा सशक्त उपस्थिति जनाएको बताए।
“मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो सन्तुलित सम्बन्ध विस्तार भयो। थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णय पनि भए,” उनले भने। उनले संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तन सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको गरिमा बढाउन आफ्नो भूमिकालाई उल्लेख गरे।
“नेपाल ४७ देशको अध्यक्षको भूमिकामा थियो। मैले सबै गरिब देशको समस्यालाई राष्ट्रसंघमा उठाउने, नेपाली जनताको इज्जत र प्रतिष्ठा उचो पार्ने काम गरेँ,” प्रचण्डले स्मरण गरे।
उनले भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक विकासमा केन्द्रित रहँदा बिचौलिया र दलालहरूले आफ्नो सरकार ढाल्न भूमिका खेलेको आरोप पनि लगाए।
“भ्रष्टाचारविरोधी र सामाजिक न्यायको अभियान चलाउँदै गर्दा मलाई बाहिर जान बाध्य पारियो,” उनले भने। अध्यक्ष प्रचण्डले देशबाट भ्रष्टाचार उन्मूलनका लागि जनताको एकता अपरिहार्य भएको उल्लेख गरे।
“तपाईं, हामी एकजुट भएर अघि बढ्यौं भने भ्रष्टाचारीलाई यो देशबाट निर्मूल गर्न सकिन्छ,” उनले भने।
प्रतिक्रिया