• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    रवि लामिछानेबिरुद्धका प्रमाणले भरिएको ६४ जीबीको पेनड्राइभ अदालतमा पेस, के-के छन् सबुत ?

    18.6K
    SHARES



    काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा दर्ता भएको आ’त्मह’त्या गर्न दुरुत्साहन मुद्दामा आज थुनछेक बहस हुँदैछ । तीन प्रतिवादीमध्ये अस्मिता कार्कीको वयान आइतबार सकिएको थियो भने आज सोमबार रवि लामिछाने र युवराज कँडेलको वयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । रवि लामिछाने लगायतविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । अभियोग पत्रमा लामिछाने लगायतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना मात्र मागदाबी गरिएको छैन, पुडासैनी परिवारलाई प्रतिवादीका तर्फबाट क्षतिपूर्ति भराउनसमेत मागदाबी गरिएको छ ।

    सरकारी वकिलले आइतबार अदालतमा दर्ता गरेको अभियोगपत्रको १९ औं पृष्ठमा भनिएको छ, ‘निज प्रतिवादीहरुलाई पाँचवर्षसम्म कैद सजायँ र पचास हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भएकाले पीडित राहत कोषमा क्षतिपूर्ति रकम जम्मा गर्ने प्रयोजनका लागि निज प्रतिवादीहरुबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(१) को देहाय(ङ) तथा ४१(३) वमोजिम तोकिएको रकम क्षतिपूर्ति शुल्क भराई सोही ऐनको दफा ४१(५) वमोजिम उक्त रकम पीडित राहत कोषमा जम्मा गरी पाउँ ।’ सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेका सबुद प्रमाणहरुमा न्युज २४ टीभीबाट प्राप्त सीसी टीभी फुटेजको हार्ड ड्राइभसमेत पेश गरेको छ । त्यसैगरी रवि लामिछानेसहित तीनैजना प्रतिवादीहरुको मोवाइल फोन पनि अदालतमा पेश गरिएको छ ।

    त्यसैगरी मृतक शालिकराम पुडासैनीले प्रयोग गरेको सामसुङ ग्यालेक्सी जी–एस मोबाइल, डोरी खरिद गरेको पसलको सीसी क्यामेरा फुटेज, र पुडासैनीले आफ्नो मोबाइलमा खिचेको भिडयो लगायतका सामाग्रीहरु संकलन गरिएको ६४ जीबीको पेनड्राइभ अदालतमा पेश गरिएको छ । अदालतमा पेश गरिएको पेन ड्राइभभित्र रवि लामिछाने, रुकु भनिने अस्मिता कार्की र युवराज कँडेलको मोबाइलको सीडीआर, एसएमएस र बीटीएस को रिपोर्ट समावेश भएको डीभीडी पनि समावेश गरिएको छ ।

    अदालतमा प्रस्तुत अभियोगपत्रमा अन्य व्यक्तिहरु पनि पक्राउ गर्नुपर्ने अवस्था आएमा पक्राउ गरी पेश गरिने उल्लेख छ । अभियोगपत्रमा भनिएको छ, ‘प्रस्तुत वारदातमा अनिल ढुंगेल लगायत अन्य कोही कसैको पनि कुनै प्रकारको संलग्नता रहेको भन्ने थप प्रमाणबाट पछि खुली आएमा सोही समय कानून वमोजिम पूरक अभियोग दर्ता गरिने व्यहोरासमेत अनुरोध छ ।’ जिल्ला प्रहरी कार्यालय, चितवनले रविसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको १० दिनपछि आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । वकिलको कार्यालयले आइतबारै रायसहितको प्रतिवेदन अध्ययन सकेर जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।

    यसैबीच शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भौतिक सबुत फिर्ता भइनसकेको अभियोगपत्रमा उल्लेख छ । शब परीक्षणसँगै पठाइएको आत्महत्यामा प्रयोग भएको डोरी पनि फिर्ता नभएकाले ती सबुतहरु फिर्ता भएपछि पेश गरिने अभियोग पत्रमा उल्लेख छ । अभियोगपत्रको पृष्ठ १७ र १८ मा भनिएको छ,‘परीक्षणको लागि पठाइएको भौतिक सबुद परीक्षण प्रतिवेदन केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौंबाट हालसम्म प्राप्त नभएकोले प्राप्त भएपछि पेश गरिने र मृतकको शव परीक्षण गर्न सँगै पठाइएको मृतक झुण्डिएको डोरी हालसम्म फिर्ता नभएको देखिँदा प्राप्त भएपछि पठाइने.. ।’

    प्रहरीले रवि लामिछाने लगायत तीनजना प्रतिवादीहरुको बैंक खाता सरकारी वकिलको कार्यालयमा पेश नगरेको अभियोगपत्रबाट खुलेको छ । अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यहोरासमेत अनुरोध छ ।’  सोमबार युवराज कँडेलको बयान सुरु भएको छ । जिल्ला अदालत, चितवनमा कँडेलको बयान थालिएको हो । जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार नर्स अस्मिता भनिने रुकु कार्कीको मात्रै बयान भएपछि कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सोमबार बयान लिइँदैछ । सोमबार बयान सकिए थुनछेक बहस पनि हुनेछ ।

    बयान सकिएर चाँडै बहस भए, तीनैजनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने सोमबार आदेश जारी हुनेछ । हालसम्म प्रतिवादीका तर्फबाट १५ र वादीका तर्फबाट सरकारी वकिलसहित ६ जनाले बहस गर्दैछन् । कानून व्यवसायी धेरै भएकाले प्रक्रिया लम्बिन सक्ने पनि जनाइएको छ । यसमा अन्य कानून व्यवसायी पनि थपिन सक्ने बताइएको छ ।

    मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना,५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।यसैबीच, रविको समर्थनमा उग्र प्रदर्शन हुन थालेपछि चितवन प्रशासनले विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका रविका समर्थकले आईतवार(हिजो) प्रहरीमाथि आक्रमण गर्ने, गाडी तोडफोड गर्ने र टायर बालेर प्रदर्शन गर्ने जस्ता कार्य गरेपछि प्रशासनले आइतवार साँझ नै निषेधाज्ञा जारी गरेको हो । आज विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हुलदंगा वा अशान्ति गर्ने उदेश्यले पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने भन्दै स्थानीय प्रशासनले क्षेत्रसमेत तोकेको छ ।

    निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको छ । कहाँ कहाँ गर्न पाइँदैन प्रदर्शन ?
    पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म,पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म, उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म र दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म प्रदर्शन गर्न पाइने छैन ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्ने ऐनमा व्यवस्था छ । यसैबीच चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको अन्तर्वार्ता लिनेलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

    जिल्ला प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको बताइरहेका बेला यस्तो चेतावनी दिएका हुन् । मल्लले हिरासतमा रहेका लामिछानेको एक अडियो अन्तर्वार्ता सार्वजनिक भएपछि यस्तो बताए । अनुसन्धानको दायरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तर्वार्ता सार्वजनिक गर्न नपाइने मल्लको तर्क छ । सार्वजनिक भिडियो कसले बाहिर ल्यायो भन्ने विषयको पनि अनुसन्धान भइरहेको र बाहिर ल्याउनेलाई कारबाही गरिने मल्लले बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ