• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विदेशी शक्तिको योजनाले देशलाई कमजोर बनायो : दुर्गा प्रसाई

    369
    SHARES



    काठमाडौँ। ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले देश विदेशी शक्तिको दीर्घकालीन योजनाअन्तर्गत कमजोर र अस्थिर बनाइएको दाबी गरेका छन्। आइतबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले आफूले सुरु गरेको आन्दोलन बैंकको ब्याज नतिर्ने अभियान नभई, “देशलाई लुटतन्त्र र आर्थिक अराजकता” बाट जोगाउने प्रयास भएको स्पष्ट पारे।

    “म पढेलेखेको होइन, भोगेको र बुझेको मान्छे हुँ,” प्रसाईले भने, “एक रुपैयाँबाट सुरु गरेर मैले व्यापारिक जग खडा गरेँ, तर आज मलाई बैंकको ब्याज नतिर्ने भनेर आरोप लगाइन्छ।” उनले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण सार्वजनिक गर्दै २०८२ सालसम्मका विवरण प्रस्तुत गरे।

    उनका अनुसार, आफ्नो लगानीमा सञ्चालन भइरहेको बीएन्डसी मेडिकल कलेजले कोशी प्रदेशमा सबैभन्दा बढी विद्युत् महसुल तिरेको र उत्कृष्ट उपभोक्ता पुरस्कार पाएको छ। “म प्रहरी हिरासतमा हुँदा त्यो सम्मान आएको थियो,” उनले स्मरण गरे।

    प्रसाईले आफ्नो असन्तुष्टि केही सीमित व्यापारी र वित्तीय समूहप्रति मात्र भएको स्पष्ट पारे। उनले भने, “देशमा ४१ हजार मारवाडी परिवार छन्, मेरो विरोध सबैसँग होइन। तर बर्माबाट लखेटिएका १६ परिवार अहिले नेपाललाई पनि बर्मा बनाउने प्रयासमा छन्।”

    उनले हाल देशमा बैंक तथा वित्तीय संस्थाहरूले ७ प्रतिशत ब्याजदर देखाएर व्यवहारमा १६–१७ प्रतिशतसम्म असुल्ने गरेको आरोप लगाए। “यसले आम नागरिक, डाक्टर, पत्रकार र साना व्यवसायीलाई ऋणको जालोमा बाँधेको छ,” उनले भने। आफ्नो आन्दोलनकै कारण ब्याजदर घटेर ६ प्रतिशत पुगेको र त्यसको लाभ सबै नेपालीले पाएको दाबी पनि गरे।

    प्रसाईका अनुसार, नेपालमा राजसंस्था र हिन्दू राष्ट्र हटाइने प्रक्रिया पनि विदेशी शक्तिको “ग्रान्ड डिजाइन”को हिस्सा हो। उनले प्रश्न गरे, “गिरिजाप्रसाद कोइरालाले बारम्बार ‘ग्रान्ड डिजाइन’ किन भनिरहनु भएको थियो? किन राजसंस्था र हिन्दू राष्ट्र हटाउनुपर्‍यो? आज त्यो खेल स्पष्ट हुँदैछ।”

    उनले सिंहदरबार र सर्वोच्च अदालतमा आगलागी हुनु व्यवस्था समाप्त हुने सङ्केत भएको टिप्पणी गरे। साथै, हालैको ‘जेन–जी’ आन्दोलनमा आफू सहभागी हुन खोज्दा रोकिएको बताएका थिए।

    प्रसाईले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहप्रति धन्यवाद दिंदै भने, “उहाँको कारण म जेल पर्नबाट जोगिएँ।” तर उनले सिंहदरबारमा आगो लागेको बेला महानगरका दमकल परिचालन नगरिएको र आन्दोलनकारीलाई पानी बाँडिएको भन्दै बालेनप्रति केही असन्तुष्टि पनि प्रकट गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ