• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    सदीक्षा म्यानपावरको यस्तो लुटधन्दा, लाखौं खाएर साउदी पठाइएका ३१ कामदारको बिचल्ली

    14.2K
    SHARES

    काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको सदीक्षा ओभरसिज प्रालिले रोजगारीका लागि कामदार विदेश पठाउने बहानामा लुटधन्दा चलाएको रहस्य खुलेको छ । केहि समयअघि सदीक्षा ओभरसिज प्रालिमार्फत रोजगारीका लागि साउदी अरेबिया पुगेका ३१ जना कामदारहरुको बिचल्ली भएपछि यस्तो रहस्य बाहिरिएको हो ।

    उद्दारका लागि आग्रह गर्दै सोमबार मात्रै बिगत ४ महिनादेखि साउदीमा अलपत्र परेका ३१ जना नेपाली कामदार संचारकेन्द्रको सम्पर्कमा आएका छन् । कम्पनीमा लामो समय काम गर्दा पनि पारिश्रमिक नपाएको दुखेसो पिडित कामदारहरुको छ । बस्नका लागि कम्पनीले कोठा उपलब्ध गराएपनि आफूहरुसँग खाना खानको लागि पैसा नभएको र भोकभोकै दिन काट्नुपर्ने बाध्यता उनीहरुले  सुनाए ।

    संचारकेन्द्रको सम्पर्कमा आएका पिडित रमेश शाहीका अनुसार ऋण निकालेर विदेश पुगेका ३१ युवाहरुले यतिबेला साउदीमा २ छाक खानासमेत खान नपाएर बिभिन्न संघ सस्था गुहार्दै हिड्नुपरेको छ । आफुले पठाएका कामदारहरू काम, तलब र खान समेत नपाई गम्भीर संकटमा पर्दा समेत सदिक्षा ओभरसिजले उद्धारका लागि कुनै चासो नदेखाएको र बेवास्ता गरेको पिडित शाहीले बताए।

    ‘हामी जुन म्यानपावर एजेन्सीबाट आयौ, उसलाई पटक–पटक आग्रह, (बिन्ति) गर्दा पनि समस्या समाधानमा कुनै चांसो नदेखाएपछि मिडिया गुहार्न बाध्य भयौ ।’ उनले संचारकेन्द्रसँग भने-‘आफ्नो न्याय, उद्धार र क्षतिपूर्तिका लागि हामीहरूले नेपालको बैदेशिक रोजगार बिभाग, श्रम तथा रोजगार मन्त्री र साउदीस्थित नेपाली नियोगहरू र यहाँको एनआरएनए साउदीमा समेत पुग्यौ तर पनि हाम्रो समस्या समाधान भएन ।’

    त्यस्तै अर्का पिडित दिनेश परियारले मानव तस्कर (दलाल)को फन्दामा परेर आफूहरुको बिचल्ली भएको दुखेसो पोखे । ‘हामीलाई ९ सय तलब र थप २ सय  गरी ११ सय रियल पाउने भनेर सम्झौता गरायो । यता आएर ५ महिना काम पनि गरियो तर ४/४ महिनाको तलब पनि दिएन, एक महिनाको ८ सय मात्रै दिएर काम गर भन्यो ।’ उनले संचारकेन्द्रसँग भने- ‘त्यसपछि भोकभोकै काम गर्न नसकेपछि हामी अहिले अलपत्र अवस्थामा छौं । एक छाक खानासम्म खान नपाएको अवस्था छ । विदेश आउदा लिएको साहुको ऋण अब कहाँबाट तिर्नु ? घरपरिवारको पनि बिचल्ली हुनेभो ।’

    सदीक्षाले नेपालबाट अज्मिल कम्पनीका लागि भनेर पठाए पनि साउदीमा भने सपलायर कम्पनीमा लगेर छोडेको उनीहरुले बताएका छन् । उद्धार गरेर आफूहरुलाई नेपाल पुर्याइदिन उनीहरुले सदीक्षा म्यानपावरसंग माग गरेका छन् । अलपत्र परेका कामदारहरुले साउदी जानका लागि प्रतिव्यक्ति ९० हजारदेखि १ लाख २० हजारसम्म नगद सदीक्षा म्यानपावरलाई बुझाएका थिए ।

    यता पिडितका आफन्त पनि काठमाडौंमा न्यायका लागि भौतारिरहेका छन् । बैदेशिक रोजगारीका लागि साउदी पुगेको भाई हंशराज आचार्य अलपत्र परेको थाहा पाएपछि उनका दाजु प्रेमराज आचार्य काठमाडौंमा मन्त्रालयदेखि बैदेशिक रोजगार बिभाग र कूटनीतिक नियोगसम्म धाइरहेका छन् ।

    बिगत २ महिनादेखि उनी आफ्नो भाई र अलपत्र परेका अन्य ३० मजदुरहरुको स्वदेश फिर्तीका लागि सदीक्षा म्यानपावरका संचालक दिपक थापासमक्ष हार गुहार मागिरहेका छन् तर संचालक थापा भने बेवास्ता गरेर हिडिरहेका छन् ।

    पिडित हंशका दाजु प्रेमले सदीक्षाबिरुद्ध मुद्दा दायर गरेपछि १ महिनाअघि मात्रै बैदेशिक रोजगार बिभाग पुगेर संचालक थापाले १ महिनाभित्रमा नेपाल आउन चाहने कामदारलाई नेपाल ल्याउने र उतै काम गर्न चाहनेहरुलाई पुनः काममा लगाउन पहल गर्ने बचन दिएका थिए । त्यहिअनुसार नै विभागमा सहमति भएको थियो तर उता भाईहरुले खान समेत खान नपाएर ज्यानै जाने अवस्था आइसक्दा समेत संचालक थापाले सहमतिअनुसार कुनै प्रक्रिया अगाडी नबढाएको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ