काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार दशैं मनाउन ससुराली पुगेका ४३ वर्षीय नइन्द्रकुमार राईले परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेका हुन्। घटनामा ४० वर्षीया अञ्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई घाइते भएका छन्।
प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतका अनुसार घाइते अञ्जना आरोपितकी श्रीमती हुन्। त्यस्तै, स्यामाउन उनकी सासू, नरेन्द्र ससुरा र तेनिना साली हुन्।
आक्रमणमा परेका अञ्जना र तेनिनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते चारैजनालाई उद्धार गरी उपचारका लागि दुर्छिमस्थित नगर अस्पताल पठाइएको विवरणमा उल्लेख छ।
घटनापछि प्रहरीले आरोपित नइन्द्रकुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। आक्रमणको कारण र घटनासँग सम्बन्धित अन्य विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया