• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    देशलाई पार लगाउन अब आन्दोलनको विकल्प छैन : केपी ओली

    256
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अहिलेको अवस्थाबाट पार लगाउन आन्दोलनको विकल्प नभएको बताएका छन् । उनले अहिले देशले स्वतन्त्रता उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको दाबी गरे ।

    बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई शपथ ग्रहण गराउँदै ओलीले देशलाई कम्तीमा स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने अवस्थामा पुर्‍याउन आन्दोलनको तयारी गर्नुपर्ने बताए ।

    ‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कम्तीमा स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ ओलीले भने ।

    उनले देशमा कोही पनि बोल्न नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको, गुण्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए । यस्तो अवस्थालाई थप बिग्रन नदिन आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो ।

    एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै ओलीले देशलाई अहिलेको संकटपूर्ण अवस्थाबाट पार लगाउने अभिभारा पनि पार्टीको काँधमा आएको बताए ।

    पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढे मात्रै कार्यकर्तामा उत्साह भर्न, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन र पार्टीको अभिभारा पूरा गर्न सकिने उनले बताए ।

    गत वर्ष फागुन २१ मा भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यमा मनोनीत इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । कार्यक्रम महासचिव शंकर पोखरेलले सञ्चालन गरेका थिए । कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ