काठमाडौँ । बडादसैँअन्तर्गत विजयादशमीको भोलिपल्ट पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ। नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउन मानिसहरू आज पनि आफन्त तथा ज्येष्ठ सदस्यका घरमा पुगिरहेका छन्।
विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएपछि दोस्रो दिनदेखि टाढा रहेका आफन्त र मान्यजनकहाँ गएर आशीर्वाद लिने प्रचलन छ। मान्यजनको घर टाढा भएका तथा विजयादशमीका दिन भेट्न नभ्याएकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने र आशीर्वाद ग्रहण गर्ने गर्छन्।
नेपालका विभिन्न समुदाय र स्थानअनुसार दसैँको टीका लगाउने चलनमा भिन्नता पाइन्छ। कतिपय ठाउँमा विजयादशमीका दिन मात्रै टीका लगाउने परम्परा छ भने धेरै स्थानमा भने टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गाको प्रसादका रूपमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा ग्रहण गरी मान्यजनबाट आशीर्वाद लिन सकिन्छ। दसैँको यो परम्पराले परिवार तथा आफन्तबीचको आत्मीयता, सद्भाव र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।
प्रतिक्रिया