• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भौतिक क्षति पक्कै ठूलो छ, तर हाम्रो सामूहिक संकल्प र आत्मबल त्योभन्दा बलियो छ : ढकाल

    302
    SHARES



    काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा आएको भीषण बाढीको क्षति प्रत्यक्ष अवलोकन गर्दा आफू भावुक र स्तब्ध बनेको बताएका छन्। तर विपत्तिबीच पुनर्निर्माण तथा सडक पुनर्स्थापनामा भइरहेको सक्रियताले भने आशा र ढाढस दिएको उनको भनाइ छ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आईएमई समूहको लगानीमा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत भ्रमणबाट फर्किएपछि सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले बाढीले सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पारेको असर हृदयविदारक रहेको उल्लेख गरेका छन्।

    ‘कालीगण्डकी नदीमा हालै आएको भीषण बाढीले पुर्‍याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्दा मन निकै भावुक र स्तब्ध बन्यो। बाढीले सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पारेको असर साँच्चै हृदयविदारक छ। प्रकृतिको यो विशाल रूप अगाडि हामी कति निरीह रहेछौँ भन्ने फेरि एकपटक बोध गराएको छ। प्रकृतिको यो विशाल रूप अगाडि हामी कति निरीह रहेछौँ भन्ने फेरि एकपटक बोध गराएको छ,’ उनले लेखेका छन्।

    ढकालले प्रतिकूल परिस्थितिका बीच पनि अवरुद्ध सडक, भत्किएका पुल तथा संरचनाको पुनर्निर्माण र मर्मत द्रुत गतिमा अघि बढिरहेको बताएका छन्। अहोरात्रको प्रयासबाट बेनी–जोमसोम सडकखण्ड पुनः सञ्चालनमा आउनुलाई उनले विपत्तिबीचको सुखद र सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

    उनका अनुसार सडक खुलेसँगै स्थानीय बासिन्दा, यात्रु र सामान ढुवानीमा राहत पुगेको छ। मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थी तथा जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटक एवं सर्वसाधारणको आवागमन पनि सहज भएको छ।

    ‘तर, यति ठूलो विपत्ति र प्रतिकूल परिस्थितिका बीच पनि अवरुद्ध सडक, भत्किएका पुल तथा संरचनाहरूको पुनर्निर्माण र मर्मत कार्य द्रुत गतिमा अघि बढिरहेको देख्दा भने ठूलो आशा र ढाढस मिलेको छ। अहोरात्र खटिएर गरिएको अथक प्रयासकै फलस्वरूप अवरुद्ध बनेको बेनी–जोमसोम सडक खण्ड पुनः सञ्चालनमा आउनु निकै सुखद् र सकारात्मक पक्ष हो। यसले स्थानीय बासिन्दा, यात्रु तथा सामान ढुवानीका लागि ठूलो राहत पुर्‍याएको छ भने मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूका साथै जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटक तथा सर्वसाधारणका लागि आवागमन सहज भएको छ।,’ उनले लेखेका छन्।

    विपद् व्यवस्थापन, सडक पुनर्स्थापना र राहतमा सक्रियताका लागि उनले नेपाल सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय तहप्रति आभार व्यक्त गरेका छन्। विशेषगरी फिल्डमा खटिएका सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक तथा कर्मचारी र सुरक्षा निकायको समर्पण एवं उच्च मनोबलको प्रशंसा गरेका छन्।

    बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै ढकालले सामूहिक प्रयासबाट संकट पार गर्न सकिने विश्वास व्यक्त गरेका छन्। ‘भौतिक क्षति पक्कै ठूलो छ, तर हाम्रो सामूहिक संकल्प र आत्मबल त्योभन्दा धेरै बलियो छ,’ उनले लेखेका छन्, ‘सबैको साथ, समन्वय र सहकार्यबाट हामी यो संकटलाई पार लगाउँदै छिट्टै अझ सबल रूपमा पुनरुत्थान हुनेछौँ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ