• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी

    इरानमा ६ दिनदेखि जारी प्रदर्शन बन्न थाल्यो हिंसात्मक, कसरी सुरू भएको थियो?

    524
    SHARES



    काठमाडौँ । इरानमा आइतबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बनेको छ।

    राजधानी तेहरानबाट आइतबारदेखि सुरू भएको प्रदर्शन शुक्रबारसम्म आइपुग्दा लोरेस्तान, चारमहल–बख्तियारी, इस्फाहान, खुजेस्तान, केरमानशाह, हमेदानलगायत विभिन्न प्रान्तका ‍सहरहरूमा फैलिएको छ।

    सरकारको आर्थिक नीतिको विरोध गर्दै तेहरानको ग्रान्ड बजारका व्यापारीहरूले बजार बन्द गर्दै सुरू गरेको प्रदर्शन हिंसात्मक बनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    इरानी मुद्राको तीव्र अवमूल्यन र दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकासिएपछि इरानमा प्रदर्शन सुरू भएको हो। प्रदर्शनहरू हिंसात्मक बन्दै जाँदा विभिन्न प्रान्तमा कैयौँको ज्यान गएको छ।

    पछिल्ला तीन वर्षयताकै सबैभन्दा ठूलो विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा मृत्यु र घाइतेको संख्या बढिरहेको इरानी सञ्चारमाध्यम र मानवअधिकार समूहहरूले जनाएका छन्।

    इरानको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले पश्चिमी लोरेस्तान प्रान्तमा प्रहरी चौकीमाथि भएको आक्रमणका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु र १७ जना घाइते भएको जनाएको छ।

    फार्सका अनुसार बिहीबार साँझ करिब ६ बजे प्रदर्शनकारीहरू प्रहरी मुख्यालयमा प्रवेश गरेका थिए। त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो भने प्रदर्शनकारीहरूले केही प्रहरी सवारी साधनमा आगजनीसमेत गरेका थिए।

    यसअघि चारमहल र बख्तियारी प्रान्तको लोर्डेगान शहरमा पनि झडपका क्रममा मृत्यु भएको फार्स र कुर्द मानवअधिकार समूह हेंगावले रिपोर्ट गरेका थिए।

    अधिकारीहरूले पश्चिमी कुहदश्त शहरमा एक जनाको मृत्यु पुष्टि गरेका छन् भने इस्फाहान प्रान्तमा अर्का एक प्रदर्शनकारी मारिएको हेंगावको दाबी छ।

    फार्सका अनुसार लोर्डेगानमा सुरक्षाबल र ‘सशस्त्र प्रदर्शनकारी’बीचको झडपमा दुई जनाको मृत्यु भएको हो। तर हेंगावले भने सुरक्षाबलको गोलीबाट कैयौँ प्रदर्शनकारी मारिएको र घाइते भएको आरोप लगाएको छ।

    इस्लामिक रिभोलुसनरी गार्ड्सले कुहदश्तमा आफ्नो मातहतको बासिज स्वयंसेवक समूहका एक सदस्यको मृत्यु र १३ जना घाइते भएको दाबी गर्दै प्रदर्शनकारीहरूलाई दोष लगाएको छ।

    तर हेंगावले मृतक अमिरहोसाम खोदायारी फर्द प्रदर्शनमा सहभागी थिए र सुरक्षाकर्मीको गोलीबाट मारिएको बताएको छ। दक्षिणी फार्स प्रान्तको मार्वदश्तलगायत अन्य शहरहरूमा पनि बिहीबार प्रदर्शन भएका छन्।

    मानवअधिकार वेबसाइट एचआरएएनएका अनुसार पश्चिमी केरमानशाह, खुजेस्तान र हमेदान प्रान्तमा दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

    लगातारको आन्दोलनका बीच सरकारले चिसो मौसमको कारण देखाउँदै बुधबार देशका धेरै भागमा सार्वजनिक बिदा घोषणा गरेको थियो।

    पछिल्ला वर्षहरूमा इरानमा महँगी, खडेरी, महिला अधिकार र राजनीतिक स्वतन्त्रताको मुद्दामा भएका आन्दोलनहरू कडा सुरक्षात्मक कारबाही र व्यापक पक्राउमार्फत दबाइँदै आएका छन्।

    अमेरिका र पश्चिमी देशहरूले इरानको आणविक कार्यक्रमलाई लिएर लगाएका प्रतिबन्धका कारण इरानी अर्थतन्त्र वर्षौंदेखि संकटमा छ। गत जुनमा इजरायलसँग भएको १२ दिने हवाई युद्धले समेत आर्थिक दबाब थपेको छ।

    सन् २०२५ मा इरानी रियाल अमेरिकी डलरको तुलनामा झण्डै आधा अवमूल्यन भएको छ भने डिसेम्बरमा आधिकारिक मुद्रास्फीति दर ४२.५ प्रतिशत पुगेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ