काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ ।
सुनसरीको इटहरीस्थित ‘रिजाल टासी इन्डस्ट्रिज’ (रिजाल क्यानिङ कम्पनी) को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरी बिक्री गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
२०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले सुनसरी र मोरङमा रहेको कम्पनीको ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्ने स्वीकृति दिएको थियो। इटहरी-विराटनगर मूल सडकसँग जोडिएको बहुमूल्य जग्गा बिक्री गरेर दुर्गम ठाउँको जग्गासँग सट्टापट्टा गराई भ्रष्टाचार गरिएको अख्तियारको आरोप छ।
उक्त निर्णय प्रक्रियामा मन्त्रिपरिषद्को सामाजिक समितिको पनि संलग्नता देखिएकाले तत्कालीन समिति सदस्य रहेका कांग्रेस नेता रिजालका साथै मालपोत कार्यालयका कर्मचारीहरूलाई समेत प्रतिवादी बनाइएको छ।
अख्तियारबाट आरोपपत्र प्राप्त भइसकेको र हाल कागजात रुजु (जाँच) गर्ने काम भइरहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले पुष्टि गरेकी छन्।
प्रतिक्रिया