• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मेलम्ची पानीको अवरोध खुलाउन मन्त्री यादव मेलम्चीवासीकै घरमा पुग्ने

    479
    SHARES



    काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् । मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर बिन्ती बिसाएपछि खानेपानी सहज रूपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरूको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन् ।

    उनले मेलम्चीका स्थानीयहरूको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए । मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको पनि उनले जानकारी दिए ।

    मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे । मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरूले विपद्को बेलामा साथ दिने आशा रहेको बताए ।

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने विषयमा हामी गम्भीर छौँ । वर्षातको समयमा रोक्ने गरिन्छ । ४ महिना बन्द गरेर बाँकी ८ महिना खुला हुन्छ । विगतमा हेलचेक्र्याइँ भएको थियो । यो वर्ष त्यस्तो हुँदैन । यो वर्ष मेलम्चीको पानी दसैँअघि काठमाडौँवासीलाई खुवाउने लक्ष्य छ । वर्षातको असरका विषयमा मौसम विभागको सल्लाहअनुसार खोल्छौँ । मौसम हेरेर सकेसम्म दसैँ अघि खोल्ने लक्ष्य छ । तर स्थानीय बासीको अवरोध पनि छ । चार किसिमको अवरोध छ । बाढी पहिरोको क्षति,स्थानीय गाउँपालिकाको भवन बनाउनु पर्ने, सीएमसी ठेकदारले स्थानीय व्यापारीको पैसा भागेकाले पैसा दिनुपर्ने र सडक बनाउनुपर्ने माग छ । स्थानीयहरूसँग वार्ता चलिरहेको छ । वार्ता सहमतिको नजिकमा छ । मेलम्चीका स्थानीयहरूले विपद्को बेलामा साथ दिनुहुन्छ भन्ने आशा छ । अहिले आन्दोलन गर्ने बेला होइन एक अर्कालाई सहयोग गर्ने बेला हो । सरकारलाई सहयोग गर्न अनुरोध गरेको छु । वार्ताबाट सहज रूपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो नभए मेलम्चीका स्थानीयहरूको घरमा नै जान्छु ।’

    काठमाडौँ उपत्यकामा मेलम्चीको पानी दसैँअघि ल्याउने तयारी गरिरहेको उनको भनाई छ । उनले मौसम विभागसँगको सल्लाहमा मेलम्चीको पानी खोल्ने सरकारको तयारी रहेको बताए ।

    उनले भने, ‘बाढी पहिरोले खानेपानीमा मात्रै करिब साढे ३ अर्बको क्षति पुर्‍याएको छ । अझै डाटा सङ्कलन गर्ने काम गरिरहेका छौँ । काठमाडौँ उपत्यका खानेपानीमा पनि धेरै क्षति गरेको छ । महाकाल चौरमा भएका मेसिनरी वस्तुहरु सबै क्षति भएको अवस्था थियो । कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको अवस्था छ । नख्खुको सबै पम्प हाउस सबै बगाएको थियो । पनौतीमा खानेपानीका दुई किलोमिटर पाइप बगाएको छ । महोत्तरीमा पनि क्षति भएको छ । पहाडी जिल्लामा पनि क्षति भएको छ । अहिलेको संरचनाले काम गर्न सक्ने अवस्था छैन । विपद् व्यवस्थापनबाट काम गर्ने तयारी गरेका छौँ । केही समयपछि क्षति भएका संरचनाहरू पुनर्निर्माण हुन्छन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया