ललितपुर। विदेशको दुःख नेपालमै गरेर पनि सफल भइन्छ भन्ने आत्मबल बोकेर पूर्ण श्रेष्ठ फर्किएर नेपाल आए, र सुरु गरे एक सानो मासु पसल, अहिले यही पसल ‘उदयपुरे मटन सुकुटी’ को नामले देश–विदेशमा लोकप्रिय ब्रान्ड बनिसकेको छ।
पूर्ण श्रेष्ठले सञ्चालन गर्दै आएको उदयपुरे मासु पसल ललितपुरको इमाडोलस्थित तिमल्सिना चोकमा छ। यहाँ उपत्यका बाहिरको नोकल खसी र स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर ल्याइएको बोइलर कुखुराको मासु बिक्री हुन्छ। गुणस्तरीय उत्पादन, सफा प्रशोधन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै उनले व्यवसायलाई फराकिलो बनाउन सफल भएका छन्।
सानो पसलदेखि निर्यातसम्मको यात्रा
उहाँको व्यापारिक यात्रा इमाडोलको सानो मासु पसलबाट सुरु भए पनि, विस्तार क्रमसँगै अहिले काठमाडौँको मूलपानीमा ‘मटन सुकुटी फुड प्रोडक्ट’ को स्थापना गरिएको छ। यस फ्याक्ट्रीबाट तयार हुने सुकुटी हाल जापान, अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया लगायत देशहरूमा निर्यात भइरहेको छ।
टिकटकले बनायो चर्चित
पूर्ण श्रेष्ठले सामाजिक सञ्जाल, विशेषगरी टिकटकमार्फत आफ्ना उत्पादनको तयारी प्रक्रिया देखाउँदै भिडियोहरू सार्वजनिक गरेपछि उनको काम झनै लोकप्रिय भयो, मासुको सफा तयारी, आकर्षक प्याकेजिङ र ग्राहकप्रतिको आत्मीय व्यवहारले दर्शकको मन जित्यो, त्यसैले ‘उदयपुरे सुकुटी’ स्वादको मात्र होइन, ‘ब्रान्डिङ’ को हिसाबले पनि उदाहरणीय बन्न पुगेको छ।
अचार उत्पादनमा समेत विस्तार
उदयपुरे ब्रान्डले पछिल्लो समय मटन र चिकेन अचार, साथै मटनको कान र जिब्रोबाट विशेष परिकार उत्पादन गर्दै बजारमा ल्याएको छ, यी अचारले नेपाली मौलिक स्वादलाई आधुनिक प्रशोधनमार्फत नयाँ पुस्तासम्म पुर्याउने काम गरेका छन्।
२५ जनालाई रोजगारी, मासिक ४० लाखको कारोबार
व्यवसायको माध्यमबाट उनले हाल २५ जना भन्दा बढी व्यक्तिलाई रोजगारी दिएका छन्। मासिक करिब ४० लाख रुपैयाँ बराबरको कारोबार हुँदै आएको व्यवसायले देशमै बसेर पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।उनि भन्छन्- ‘पैसा ठूलो कुरा होइन, ग्राहकको सन्तुष्टि नै मेरो सफलता हो।’ स्वादिष्ट, स्वच्छ र स्वास्थ्यअनुकूल मासु उत्पादन गरेर ग्राहकलाई खुसी बनाउनु नै आफ्नो प्राथमिकता रहेको श्रेष्ठको भनाइ छ ।
सपना लिएर विदेश गएका पूर्ण श्रेष्ठको सफलताको कथा सानो मासु पसलबाट सुरु भएर सुकुटी निर्यातसम्म पुगेको छ। परिश्रम, लगनशीलता र निष्ठाले कुनै पनि कामलाई सफलता दिलाउन सक्छ भन्ने प्रेरणादायी सन्देश बोकेको यो यात्रा विशेषगरी युवापुस्ताका लागि अनुकरणीय बनेको छ। गरे के हुदैन र भन्ने सन्देश फैलिएको छ।
प्रतिक्रिया