काठमाडौँ । प्रतिपक्षी दल रास्वपाको बेल घेराउ र राप्रपाको बहिस्कारका बिच सभामुखले संसदको कारबाही अघि बढाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागसहित रास्वपा र राप्रपाले विरोध गरेका हुन् ।
तर, सभामुखले उनीहरूको विरोधका बिच सदनका कारबाही अघि बढाउँदै आगामी आर्थिक वर्षको वार्षिक अनुमानमाथि छलफल गराएका हुन् ।
यसैबीच प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा एमाले सांसद सूर्यबहादुर थापाले नियमापत्ति जनाएका छन् ।
‘हामी सबै सदस्यहरुले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? र कस्तो मर्यादाकाबिचमा यो बैठक गर्नुपर्ने हो ? ध्यानाकर्षण गराउन चाहान्छु ’, रास्वपा सांंसदको विरोधलाई लक्षित गर्दै थापाले भने, ‘हामी रत्नपार्कमा छौ कि शहिदगेटमा छौ कि, कलंकी वा पोखराको चिप्लेढुंगामा छौँ ? मैले बुझ्न सकिन, माननीयहरुका कुर्सी रोइरहेका छन् ।’
थापाले यति भनेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै वक्ता बस्नेतलाई बोल्ने क्रमलाई निरन्तरता दिन अनुमति दिए । सोमबारको बैठकमा पनि अघिल्ला दिनमा जस्तै रास्वपाका सांसदहरु नाराबाजीपछि बेल घेर्दै पलेंटी कसेर विरोध गरिरहेका छन् ।
प्रतिक्रिया