काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई पाँच दिनको समय दिएको छ ।
शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै आज बसेको समिति बैठकमा थप समय माग गरेका थिए । तर, सांसदहरूले भने आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए ।
यद्यपि समिति सभापति अम्मरबहादुर थापाले पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् । ‘पाँच दिनभित्र सहमति गरेर आउनू । त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ,’ समिति सभापति थापाले भने ।
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन् ।
विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पास हुन सकेको छैन ।
प्रतिक्रिया