काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ ।
केही बेरअघिबाट सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल हुने एक नेताहरूले बताएका छन् ।
साथै समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुने भनिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी रहेका छन् ।
आगामी पुस २३ गते राष्ट्रियसभा सदस्य उम्मेदवारको उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।
यस्तै, नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन गरेर जाने निर्णय भएको छ । गठबन्धनमा यसबारे छलफल हुन्छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने हाम्रो बैठकको निर्णय हो ।’
यस्तै बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिहरु र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय गरेको विश्वकर्माले बताएका छन् ।
प्रतिक्रिया