• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    नख्खु कारागारभित्रै कुटिकुटी भक्तबहादुरको हत्या, गृहमन्त्रीको नाममा मृतकले लेखेको कारुणिक पत्रसहित

    31K
    SHARES

    काठमाडौँ, २५ बैसाख ।

    नख्खु कारागारभित्र एक जना कैदीको ज्यान गएको छ । बर्दिया घर भइ कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिना जेल सजाय पूरा गरिसकेका भक्तबहादुर सुनारको बैशाख २१ गते राति कारागारभित्रै ज्यान गएको हो ।

    प्रहरीले बैशाख २२ गते विहान भक्तबहादुर विरामी भएको भन्दै आफन्तलाई खबर गरेको थियो । उपचारको लागि भन्दै पाटन अस्पतालमा लगियो । अस्पतालले मृत घोषणा गर्यो । आफन्तले सोध्दा ज्वरो आएको प्रहरीले बताएपनि शरीरका विभिन्न ठाउँहरुमा निल डाम देखिएपछि शंका पैदा भएको थियो ।

    परिवारले लास बुझ्न नमानेपछि प्रहरीले आफैले पोष्टमार्टमको लागि भन्दै भक्तबहादुरको शव शिक्षण अस्पताल पुर्याएको छ । भक्तबहादुरका दाजु रामबहादुर सुनारले प्रहरी र जेलभित्रैका केहि गुण्डाहरुले यातना दिएर हत्या गरेको बताएका छन् । छानविनको लागि भन्दै परिवारले शव बुझ्न मानेका छैनन् ।

    रामबहादुरले भाई भक्तबहादुरको जेलभित्रै हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय ललितपुरमा उजुरी समेत दिएका छन् । २ दिनअघि मात्रै कारागारमै सकुशल भाईलाई भेटेर फर्किएका रामबहादुरले उनको हत्या भएको दावी गरे ।

    ‘कारागारमै पुगेर २ दिन अघि मात्रै भाईलाई भेटेर फर्किको थिए, उ एकदम ठीकठाक थियो’ दाजु रामबहादुरले रुदै संचारकेन्द्रसँग भने-‘२ दिन नबित्दै प्रहरीले नै काठमाडौंबाट फोन गरेर तपाईको भाई सिकिस्त बिरामी हुनुहुन्छ आउनुपर्यो भने भनेर फोन गर्नुभयो, मैले पत्याइन । तर हतारहतार काठमाडौं आउदा त पाटन अस्पतालको शबगृहमा भाईलाई मृत भेटे ।’

    रामबहादुरले भाईको हत्या नै भएको भन्दै सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाहीको माग गरेका छन् । ‘सरकारको घर (जेल) भित्रै मेरो भाईको हत्या गरिएको छ, मलाई न्याय पनि सरकारले नै दिनुपर्छ ।’ रामबहादुरले भने- ‘पहिले पनि मेरो भाई निर्दोष थियो तर केटिपट्टिले फसाएर जेल हालिदिए, अहिले जेलभित्रै मारिदिए ।’

    भक्तबहादुरले कारागारभित्र केहि व्यक्तिले पैसा माग्दै आफुलाई यातना दिने र ज्यान मार्ने धम्की समेत दिएकोबारे खुलासा गर्दै पत्र समेत लेखेका छन् । उनले गृहमन्त्री रामबहादुर थापा बादलको नाममा २ पेज लामो पत्र लेखेको भेटिएको छ तर उनले पठाएको पत्र गृहमन्त्रीलाई नपुग्दै उनको ज्यान गयो ।

    पत्रमा भक्तबहादुरले आफूसँग कारागारका चौकीदार बुद्ध गुरुङ र जेलरले १५ लाख मागेको नदिए मारिदिने धम्की दिएको उल्लेख गरेका छन् । उनले आफूले सजाय भुक्तान गरीसक्दा पनि आफूसँग १५ लाख दिएमात्रै छोड्ने  नदिए भित्रै मारिदिने धम्की दिएको भन्दै न्यायको लागि गृहमन्त्री बादललाई पत्र लेखेका छन् ।

    पत्र कुन मितिमा लेखेका हुन भन्ने कुरा नखुलाएपनि गृहमन्त्री बादल कारागार अवलोकनमा जाँदा आफूहरुलाई भेट्न नदिएको पत्रमा उल्लेख छ ।

    भक्तबहादुर २०६४ माघ १४ गते देखि गते कर्तव्य ज्यान मुद्दामा जेल चलान भएका थिए । आफ्नै प्रेमिकाको बलात्कारपछि हत्या गरेको उनीमाथि आरोप थियो । तर उनले त्यो आरोप मात्रै भएको भन्दै आफुले प्रेमिकाको हत्या नगरेको बताउदै आएका थिए । जेल पर्नुअघि भक्तबहादुर नेपाली सेनामा कार्यरत थिए ।

    पत्रमा भक्तबहादुरले आफूलाई पैसा नदिएको भनेर निकै यातना दिइरहेको उल्लेख गर्दै यसअघि पनि एक कैदीले पैसा नदिएकै कारण उनको कुटीकुटी हत्या गरेको समेत उल्लेख गरेका छन् । उनले जेलभित्र भइरहेका कर्तुतबारे विस्तारमा लेखेको पत्र यस्तो छ ।

    श्री सम्माननीय  गृहमन्त्री ज्यू

    सिंहदरवार काठमाडौं

    मिति २०६४ माघ १४ गते देखि २०७५ बैशाख ११ गतेसम्म कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिला सजाय भुक्तान गरी सकेको । यस कारागारमा पाउनु पर्ने अधिकार छुटको ४० प्रतिशत पाई छुट्नु पर्नेमा मलाई यस कारागारका चौकिदार बुद्ध गुरुङ र जेलर मिली मेरा लागत उठाउनका लागि १५ लाख मागेको र यदि सो रकम नदिएको खण्डमा अझ अरु १० वर्ष यही सड्नु पर्ने भनी मलाई कारागारका चौकीदार गुरुङले भनेका छन् ।

    मानिनीय मन्त्रीज्यू, यस राज्यमा हामी जस्ता गरिबका छोराले न्याय पाइदैन । मात्र १५ लाख जत्रो ठूलो रकम म जसतो बाबु आमा नभएको टुहुरोले कहाँबाट ल्याउने । म बस्ने यस नख्खु कारागारमा प्रत्येक व्यक्तिसँग रकम असुली भइरहेको छ । यदी भनेजति रकम नदिएमा, मार्ने, कुट्नेलगयात विभिन्न किसिमका यातना दिने लगायतका कार्य भइरहेको छ । यस्तै एउटा घटना विगतमा पनि यस कारागारामा घटेको थियो । चन्द्र राजवंशसँग । उसँग पनि रकम मागेको र नदिँदा कोखा–कोखामा हानेको र त्यो व्यक्तिको विगत १ महिना अघि उपचारको क्रममा मुत्यु भइसकेको । र, यस कारागारामा मान्छे, कुट्ने, पैसा उठाउने नदिए बन्दी बनाएर राख्ने । बाहिरबाट हेर्दा जति शान्त देखिन्छ, यो कारागार भित्रबाट त्यतीनै खतरनाक छ ।

    अस्ती यहाँ आउनु भएको बेला हजुरलाई भेट्न दिइएन हामीलाई । अनि हजुरले गरेको आदेश अनुसार भेटघाट कक्षमा सिसि क्यामारा पनि राखेको छैन । अनि यहाँ पैसा वालाहरुलाई भित्रै मोवाइल चलाउन दिनेलगायतका अरु पनि सम्पूर्ण सुविधा उपलब्ध दिने, कारागार बाहिर निकाली चौकीदार जेलले दोहोरी साँझमा घुमाउन लैजाने तर हामी जस्ता गरिबलाई भने कारागाले दिने सेवा सुविधा नै नदिई उल्छै कुटपिट गरी मार्छु भन्दै धम्की दिइराखेको गृहमन्त्रीज्यू हिजो आज पत्रिकामा हजुरको कारागार सुधार सम्बन्धी लेख देखेर धेरै नै खुशी भएर यो लेखेको छु ।

    तर, आज फेरि ममाथि यातना दिई पैसा, फिरौती माग्ने क्रम सुरु भएको । मलाई दिनुपर्ने सेवा सुविधा पनि कटौती भएको छ । फेरिपनि पैसा मागेको कुरा आफान्तसँग गरेमा चौकीदार गुरुङले तेरा हात, खुट्टा भाँचेर यही जेलमा नै मारिदिन्छु भनेका छन् । मैले यसको विरोध गरेमा तैले पनि चन्दराज वंशले जस्तै ज्यानले मर्नु पर्ला भनि धम्की दिइरहेको छ ।

    मानिनय गृहमन्त्रीज्यू, म जस्तो गरिबको छोराले यत्रो ठूलो रकम कहाँबाट ल्याउने । यसको बुद्ध गुरुङ र जेलर जस्तालाई हदैसम्मको कारवाही होस भनि हजुरसँग ठूलो आशा गरेको छु । र, मलाई यहाँ मार्ने–कुट्ने पनि अत्याधिक मात्रामा भइरहेको छ । साथै मन्त्रीज्यूबाट न्यायको ठूलो अपेक्षा गर्दछु । अन्त्यमा म आफ्ना पीडा सुनाउँदै अब केही हुन आशामा जान नजानी लेखेको छु । यो पत्र बन्द गर्दै हजुरसँग विदा चाहन्छु ।

    पीडित निवेदक
    भक्तबहादुर सुनार
    नख्खु कारागार नयाँ ब्लक काठमाडौं ।

    हेर्नुहोस् भक्तबहादुरले लेखेको पत्र जस्ताको त्यस्तै

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ