• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    २३औं सांस्कृतिक प्रतिरोध दिवस- काठमाडाैंमा कविता वाचन, बुटवलमा कार्यक्रम

    6.7K
    SHARES



    बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघले ‘२३ औं सास्कृतिक प्रतिरोध दिवस’को अवसरमा देशभर बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । महासंघले बिहिबार ‘२३ औं सास्कृतिक प्रतिरोध दिवस’ का अवसरमा बुटवलमा भव्यताका साथ कार्यक्रम गर्यो ।

    कार्यक्रममा नेकपाका नेता एवं रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसालले आत्मसमर्पण गर्न वार्ता आएको नभएको बताए  । नेता भुसालले आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गरेर दुई पक्ष भएको ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    कवि एवं लेखक तथा राजनीतिक विश्लेषक दिल साहनीले कुनै पनि परिवर्तन, आन्दोलन, क्रान्ति सम्पन्न गर्नको लागि सांस्कृतिक कर्मीहरूको महत्वपूर्ण भूमिका रहने भएकाले प्रतिक्रियावादी राज्यसत्ताले जहिल्यै पनि सांस्कृतिक कर्मीहरूलाई नरूचाउने अर्थात् गलत नजरले केन्द्रमा राख्ने बताए ।

    कार्यक्रममा युवा संगठन नेपालका महासचिव सागरले पूरानो छाडा संस्कृति र दलाली संस्कार विरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रमको अध्यक्ष तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले आजकाे दिन आफूहरुका लागि अनेकोटलगायतका सांस्कृतिक सहिदहरू, जनयुद्धीय सहिदहरू एवम् एकीकृत जनक्रान्तिका महान् सहिदरू विशेष स्मरणीय र उत्प्रेरक रहेको बताए । उनले  सांस्कृतिक प्रतिरोध दिवस महान् सहिदहरूको सम्मान गर्ने, उनीहरूलाई सम्झने र उनीहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता गर्ने दिन भएकाे बताए ।

    कार्यक्रममा केन्द्रीय सामना परिवार र क्षितिज सांस्कृतिक परिवारको विशेष नृत्य प्रस्तुती रहेको थियो । साथै कार्यक्रममा विभिन्न कवि एवं स्रष्टाहरूद्धारा राष्ट्रियता , जनगणतन्त्र, जनजीविका तथा वैज्ञानिक समाजवादको पक्षमा, महान सांस्कृतिक सहिदहरूको सम्झनामा सिर्जित कविता, जनवादी गीत र हास्यव्यङ्ग्य प्रस्तुती समेत रहेको थियो ।

    त्यस्तै दिवसकै अवसरमा अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले काठमाडाैंमा कविगोष्ठी सम्पन्न गरेको छ । काठमाडौँको संवाद डबलीमा बिहीबार आयोजित प्रतिरोध दिवसमा २५ जना कविले प्रतिरोधी कविता वाचन गरे ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले क्रान्ति जारी रहेकाले प्रतिरोधी चेतना र शक्ति जगाउने कविता सिर्जना गरिरहनुपर्ने बताए । उनले भने, ‘प्रतिध्रुवीय कित्तामा निराशाका कविता आएका छन् । राजनीति सही बाटोमा आएपछि राम्रा कविता लेखिनेछन् र राम्रा कविताले राजनीतिलाई सही बाटोमा डोहोर्याउनेछ ।’

    अखिल नेपाल लेखक सङ्घकी अध्यक्ष शोभा दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाचित कविताको समीक्षा गर्दै स्रष्टा एवम् समालोचक डा. रामप्रसाद ज्ञवालीले हाम्रो कविताको शक्ति के हो भन्ने प्रश्न गरेका थिए । उनले कार्यक्रममा वाचित कविताले क्रान्ति सम्पन्नताको आराधना गरेको र क्रान्तिकारी विचार र आदर्श प्रस्तुत गरेको भन्दै जिज्ञासा राखेका थिए, ‘यत्रो त्याग, शौर्य र बलिदानीको मार्ग रोजेको क्रान्तिकारी पार्टीको आदर्श पछ्याउन जनता किन हिचकिचाइरहेका छन् र सुधारवादी बाटो पछ्याउन लालायित भइरहेका छन् ?’ उनको यही जिज्ञासा शान्त पार्दै नेकपा नेता अनिल शर्माले क्रान्ति कष्टसाध्य बाटो भएकाले जनताले प्रायः सुधारवादी, सजिलो बाटो रोज्ने गरेको र अन्ततः क्रान्तिलाई नै साथ दिने गरेको बताएका थिए ।

    प्रतिरोध दिवसमा अनिल शर्मा, रामप्रसाद ज्ञवाली, बन्धु चन्द, शोभा दुलाल, अम्बिका चन्द, अशोक सुवेदी, अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, भीम भारती, अविरल शर्मा, रसुवाली कवि, महेन्द्र राई, ममता सुर्खेती, नवराज मैनाली, विष्णु लामा ‘जित’, कुलदीप थापामगर ‘अभिलाश’, उषाकिरण आजाद, रङ्गवीर विश्वकर्मा, रोशन भारती, नवराज न्यौपाने, खेम आचार्यलगायत २५ जना कविले क्रान्तिकारी चेतनाले ओतप्रोत कविता वाचन गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ