काठमाडौँ । नेकपा एमालेले निर्णायक शक्ति बनाउने वार्षिक कार्य योजना पारित गरेको छ । शुक्रवार बसेको एमाले सचिवालयको ३६ औँ बैठकले पार्टीको वार्षिक कार्यायोजना पारित गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
वार्षिक कार्य योजनामा १८ विषय समेटिएका छन् । जसमा पार्टी सदस्यता नवीकरण,विस्तार र अभिलेखीकरणको कामलाई एमालेले कार्य योजनाको पहिलो विषय बनाएको छ ।
त्यस्तै नियमित रूपमा अधिवेशन र व्यवस्थापन अन्तर्गत बाँकी रहेका जिल्लाहरूको अधिवेशन कात्तिक महिनाभित्र सम्पन्न गर्ने एमाले कार्ययोजनामा समेटिएको छ । एमालेले सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्ने योजना बनाएको छ ।
पार्टी प्रवेश गरेका र अधिवेशनहरूबाट बिदा भएका नेता कार्यकर्ताहरूलाई तीन महिनाभित्र पार्टीका तर्फबाट यथोचित जिम्मेवारी दिन गृहकार्य गर्ने, पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कन विधि निर्माण गर्ने र कमिटीभित्रको अन्तर्विरोध व्यवस्थापनलाई आधार बनाएर कार्य योजना बनाएको छ ।
एमालेले प्रत्येक वर्ष पार्टीका सम्पूर्ण कार्यकर्ता स्कुलिङमा सामेल हुनुपर्ने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषय पनि कार्य योजनामा समेटिएको महासचिव पोखरेलको भनाइ छ ।
केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयहरू व्यवस्थापन, प्रचारमा सोसल मिडिया परिचालन, कामका नयाँ क्षेत्र पहिचान र जिम्मेवारी, सबै तहका कमिटीमा वार्षिक बजेट तय गर्ने, पार्टी शुद्धीकरण अन्तर्गत जीवन शैली जनतामा स्वीकार्य हुनुपर्ने पनि एमालेको कार्य योजनामा छ ।
मिसन ८४ को लक्ष्य पुरा गर्न जनसङ्गठन परिचालन, प्रवासीहरूलाई देश हितका पक्षमा प्रयोग गर्ने, भवन निर्माण कार्य योजना, नियमित रिपोर्टिङ प्रणाली अघि सार्ने सोच अघि सारेको छ । त्यस्तै ४० वर्षमुनिका युवाहरूको ‘यूथ समिट’ गर्ने योजना समेत एमालेले बनाएको छ । बैठकले भाकपाका नेता सिताराम यचुरीको निधनप्रति दुःख व्यक्त गर्दै अन्तिम संस्कारमा वरिष्ठ नेता पोखरेल भारत जाने निर्णय एमालेले गरेको छ ।
यस्ता छन् १८ बुँदे कार्य योजना
१. सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण ।
२. नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मङ्सिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने)।
३. अरू पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने ।
४. कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने विधि बसाल्ने ।
५. पार्टी कमिटी परिचालन र अन्तर्विरोध व्यवस्थापनको प्रणाली बसाउने ।
६. पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने । प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कुलमा भाग लिनै पर्ने ।
७. सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने । जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने ।
८. पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने । केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने ।
९. पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने । हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने ।
१०. कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने ।
११. हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने । त्यस अनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने ।
१२. पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रूपमा लैजाने ।
१३. बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने । नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसङ्गठन परिचालन गर्ने ।
१४. प्रवासमा रहेका प्रवासीबिचको कामलाई देश हितको पक्षमा परिचालन गर्ने ।
१५. पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने ।
१६. नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने ।
१७. पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने ।
१८. पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘यूथ समिट’ आयोजना गर्ने ।
प्रतिक्रिया