• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय राजनीति

    भारतमा अन्तिम चरणको मतदान जारी- मोदीदेखि कंगना रनावतसम्म मैदानमा

    1.5K
    SHARES



    काठमाडौँ । भारतमा लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौं एवं अन्तिम चरणको मतदान जारी छ। ८ राज्य तथा केन्द्र शासित प्रदेशसका ५७ सिटमा लोकसभा सदस्य चुन्नका लागि आज अन्तिम चरणको मतदान भइरहेको छ।

    बिहारका ८ सिट, हिमाचल प्रदेशका ४ सिट, झारखण्डका ३ सिट, ओडिशाका ६ सिट, पञ्जाबका १३ सिट, उत्तर प्रदेशका १३ सिट, पश्चिम बंगालका ९ सिट र चण्डीगढको १ सिटमा आज बिहानदेखि मतदान भइरहेको छ।

    अन्तिम चरणमा मतदान गर्नका लागि योग्य मतदाताको संख्या १० करोड ६० लाख छ भने १० लाख ९० हजार मतदान केन्द्र तोकिएको छ। यसअघि १९ अप्रिलमा पहिलो चरण, अप्रिल २६ दोस्रो चरणको, मे ७ मा तेस्रो चरण, मे १३ मा चौथो चरण, मे २० मा पाचौं चरण, मे २५ मा छैटौं चरणको मतदान भइसकेको छ।

    अन्तिम चरणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न चर्चित अनुहारहरू उम्मेदवार छन्। केही चर्चित उम्मेदवारहरूको संक्षिप्त विवरण यस्तो छ- प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसी लोकसभा सिटमा उम्मेदवार छन्। यहाँ उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए।

    यसपालि मोदीसँग प्रतिस्पर्धा गर्न इन्डिया गठबन्धनबाट कांग्रेसका अजय राय उम्मेदवार छन्। राय अघिल्लो दुई निर्वाचनमा मोदीसँग पराजित हुँदा तेस्रो स्थानमा थिए। २०१९ मा समाजवादी पार्टीकी सालिनी यादवले दोस्रो स्थान हासिल गरेकी थिइन्।

    सन् २०१४ मा मोदीले ५ लाख ८१ हजार भन्दा बढी मत पाएका थिए। त्यतिबेला आम आदमीका अरबिन्द केजरीवालले २ लाख भन्दा बढी मत पाएका थिए। अजय रायले करिब ७५ हजार मत मात्रै पाएका थिए।

    अनुराग ठाकुर

    भारतीय जनता पार्टीका अनुराग ठाकुर हिमाचल प्रदेशको हमीरपुर लोकसभा सिटमा उम्मेदवार छन्। उनी केन्द्रीय मन्त्री हुन्। हमीरपुरबाट उनले चार पटकसम्म लोकसभा चुनाव जितिसकेका छन्। उनीसँग प्रतिस्पर्धा गर्न कांग्रेसले यसपालि सतपाल रायजादा कांग्रेसका उम्मेदवार छन्। अघिल्लो लोकसभा निर्वाचनमा भाजपाका ठाकुरले ६ लाख ८० हजार भोट पाएका थिए। त्यतिबेला कांग्रेस उम्मेदवार रहेका रामलाल ठाकुरले झन्डै ४ लाख भोट पाएका थिए।

    मीसा भारती

    मिसा भारती बिहारको पाटलीपुत्र लोकसभा सिटमा उम्मेदवार छिन्। उनी लालु प्रसाद यादवकी छोरी हुन्। मिसा भारतीविरूद्ध भाजपाले रामकृपाल यादवलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा पनि मिसा भारती र रामकृपाल यादवबीच प्रतिस्पर्धा भएको थयो। त्यतिबेला यादव विजयी भएका थिए।

    अभिषेक बेनर्जी

    पश्चिम बंगालको डायमन्ड हार्बर लोकसभा सिटमा तृणमूल कांग्रेसका नेता अभिषेक बनर्जी उम्मेदवार छन्। उनी मुख्यमन्त्री ममता बेनर्जीका भतिजा हुन्। सन् २०१४ देखि नै अभिषेक उक्त सिटबाट विजयी हुँदै आएका छन्।

    भाजपा नेता अभिजित दास लगातार पराजित हुँदै आएका छन्। यसपालि पनि भाजपाले उनैलाई टिकट दिएको छ। कंग्रेस आइको समर्थनमा सिपिएमका विद्यार्थी नेता प्रतीक उर रहमान उम्मेदवार छन्।

    कंगना रनावत

    अभिनेतृ कंगना रनावत पहिलोपटक चुनाव लड्दैछिन्। हिमाचल प्रदेशकी कंगनालाई भाजपाले मण्डी लोकसभा सिटमा उम्मेदवार बनाएको छ। यहाँ कांग्रेसले विक्रमादित्य सिंहलाई उम्मेदवार बनाएको छ। सिंह हिमाचल प्रदेशका लोक निर्माण मन्त्री पनि हुन्।

    सन् २०१४ र २०१९ मा यहाँ भाजपा विजयी हुँदै आएको छ। सन् २०२१ मा भएको उपनिर्वाचनमा कांग्रेसकी प्रतिभा सिंह विजयी भएकी थिइन्। यसपालि प्रतिभा सिंहले चुनाव नलड्ने घोषणा गरेकी थिइन्।

    यससँगै भाजपाबाट रवि किसन, रविशंकर प्रसाद, स्वतन्त्र उम्मेदवार पवन सिंह, पञ्जावका पूर्वमुख्यमन्त्री चरणजीत सिंह चन्नी, समाजवादी पार्टीका अफजाल अन्सारी लगायत विभिन्न चर्चित उम्मेदवारहरू मैदानमा छन्।

    अन्तिम चरणको मतदान आज सकिएपछि मंगलबार (जुन ४) देखि मतगणना सुरू हुनेछ। मतदान सकिएपछि आज बेलुका विभिन्न सञ्चारमाध्यमहरू र संस्थाहरुले एक्जिट पोल सार्वजनिक गर्ने बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया