काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टर पर्वको अवसरमा युक्रेनविरुद्ध जारी आक्रमण केही समयका लागि रोक्ने घोषणा गरेका छन्। बीबीसीका अनुसार पुटिनले शनिबार साँझदेखि आइतबार मध्यरातसम्म सबै प्रकारका सैन्य गतिविधि रोक्न आदेश दिएका हुन्।
रुसी सेनाले जारी गरेको विज्ञप्तिमा शनिबार साँझ ६ बजेदेखि आइतबार राति १२ बजेसम्म (नेपाली समयअनुसार शनिबार साँझ ८:४५ देखि सोमबार बिहान २:४५ सम्म) युद्धविराम लागू हुने उल्लेख छ। पुटिनले युक्रेनले पनि युद्धविराममा सहभागिता जनाउने विश्वास व्यक्त गरेका छन्। तर, युक्रेनी पक्षले भने उक्त घोषणालाई विश्वास गर्न नसकिने बताएका छन्।
युक्रेनी अधिकारीहरुले युद्धविरामको घोषणापछि पनि रूसी ड्रोनहरू युक्रेनी आकाशमा देखिएको दाबी गरेका छन्। युक्रेनी सेनाका कमाण्डर इन चिफ अलेक्जेण्डर सिर्स्कीले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बुझाएको प्रतिवेदनअनुसार रूसी सेनाले कुर्स्क क्षेत्रमा आफ्ना गतिविधिहरू जारी राखेका छन्।
यस्तै, बेलगोरोद क्षेत्रमा युक्रेनी सेना अगाडि बढेको र केही क्षेत्रको नियन्त्रण लिएको जानकारी दिएका छन्। जेलेन्स्कीले युद्धविरामको घोषणालाई “मानव जीवनप्रति पुटिनको असली दृष्टिकोण देखाउने एक नाटक” भन्दै आलोचना गरेका छन्। साथै, उनले सम्पूर्ण युक्रेनभर हवाई हमलाको सम्भावनाबारे सचेत गराएका छन्।
प्रतिक्रिया