• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    ओली सरकारलाई आयो १५ दिने अल्टिमेटम, अब के हुन्छ ?

    79.2K
    SHARES



    काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आफ्ना माग पूरा गर्न केपी ओली सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ । महासंघले उक्त समयमा आफ्ना माग पुरा नभए पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाउने चेतावनी दिएको छ। महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई व्यवसायीका माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाउने चेतावनी दिएको हो।

    सोमबार सम्पन्न महासंघको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे माग प्रस्तुत गर्दै अझै एक वर्ष ट्यांकरहरू भ्याटमा दर्ता हुन नसक्ने उल्लेख गरेको छ। महासंघका अनुसार ट्यांकरहरू भ्याटमा जानका लागि हाल सञ्चालनमा रहेका ट्यांकरहरूको ह्रास कट्टी मूल्य तय हुनुपर्ने तथा हाल भ्याटमा दर्ता नभएका त्यस्ता गाडी दर्ता भएपछि विक्री गर्दा भ्याट नलाग्ने व्यवस्था गरिनु पर्नेछ।

    ट्यांकरहरू ८० प्रतिशत भारतीय क्षेत्रमा सञ्चालन हुने भएकाले त्यहाँको बिल कर प्रयोजनका लागि मान्य हुनुपर्ने महासंघको माग छ। त्यस्तै, महासंघले ट्यांकर चलाउँदा खर्च हुने डिजलको भ्याट फिर्ता पाउने व्यवस्था पनि सरकारले गरिदिनु पर्ने माग राखेको छ। महासंघले अधिकांश ट्यांकरहरू बैंक ऋणमा रहेको भन्दै ऋण फुकुवामा पहल गरिदिन पनि सरकारलाई आग्रह गरेको छ। ट्यांकर चालकहरू आफैंले सञ्चालन गरेको र बैंक ऋण फुकुवा गरेर कम्पनी दर्ता गरी भ्याटमा जान समय लाग्ने महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए।

    यसैबीच यता प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि दिन नसकिने प्रष्ट गरेका छन् । नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने प्रष्ट गरेका हुन् । प्रधानमन्त्री ओलीले वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने र घाटामा छ भनेर सरकारसँग पैसा मागिरहने क्रम कहिलेसम्म भन्दै प्रश्न गरे । ‘जहाज छन् तर उडाउने पाइलट छैनन् । गन्तव्य छैन । कहाँ उडाउने टुंगो छैन । भद्रगोल व्यवस्थापन छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो ।

    आफैं सक्ने भए छिटो गर्न पर्यो’, ओलीले भने,‘गर्नु पर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिँदैन । यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ ।’ सही कार्ययोजना बिना निगमलाई यथास्थितिमा रकम दिन नसकिने प्रष्ट गर्दै उनले निजी क्षेत्रले सञ्चालन गर्दा जे पनि सफल हुने र सरकारी हुँदा जे पनि असफल हुनुको कारण के हो जवाफ दिनुपर्छ भने ।

    प्रधानमन्त्री ओलीले निगमलाई सुधार्न आफु तयार रहेको भन्दै ठोस कार्ययोजना ल्याए थप विमान किन्न सरकारको सहयोग रहने पनि बताए । विमान खरिद गर्दा कमिशनको खेल हुनेतर्फ औल्याउँदै प्रधानमन्त्री ओलीले सरकारलाई कमिशन नचाहिएकाले निगमका पदाधिकारीलाई पनि कमिशनको पछि नलागी संस्था बनाउनेतर्फ लाग्न निर्देशन दिए ।

    ऋण लिएर किनेको वाइड बडी जहाज चलाउन नसकेको निगमले किस्ता तिर्नकै लागि सरकारसँग आर्थिक सहयोग माग्दै आएको छ । राष्ट्रिय ध्वजावाहक भएकाले काँध थाँप्न सरकार तयार भएपनि आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराए । सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने पनि उनले बताए ।

    सधैं सरकारको मुख ताकेर नबस्ने सुझाव दिँदै ओलीले नाम वायुसेवा भए पनि दान पूण्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको बताए । ‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयो ? ३९ अर्ब ऋण छ । यो दान पूण्यको मात्र क्षेत्र होइन । नाम सेवा निगम भए पनि व्यापार हो ।

    निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो होइन’, प्रधानमन्त्री ओलीले भने भने,‘आफैंले आम्दानी गर्नुपर्छ । जहाज किन्छौं चलाउने मान्छे छैन । वाइड बडी किन्यौं गन्तव्य छैन । नेपाल वायुसेवा निगममात्र घाटामा छ । काम गर्ने, चढ्ने, चलाउने सबै नाफामा वायुसेवा निगममात्र किन घाटामा ?’

    यस्तै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय गर्न ढिला नगर्ने बताएका छन् । नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले समिति समेत गठन भएको भन्दै एमसीसीबारे निर्णय गर्न ढिला नहुने बताएका हुन् ।

    बुधबारदेखि सूरु भएको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नहुने र विज्ञ समिति बनाएर त्यसबारे निर्णय हुनुपर्ने सुझाव दिएका थिए ।

    केन्द्रीय समितिमा एमसीसीको मुद्दा चर्कोसँग उठेपछि आइतबार बिहान बसेको सचिवालय बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको थियो जसलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

    कार्यदललाई दस दिनमा प्रतिवेदन पेस गर्न समय दिइएको छ। नेकपा बरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी समिति सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन्।

    त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो । बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ ।

    ‘ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ’, केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘नेपाल र भारतका परराष्ट्र सचिवहरुको संयन्त्रबाट समस्याको समाधान गर्नेपूर्व सहमति विपरित गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ ।’

    बैठकले राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउँदै समस्याको समाधान कुटनीतिक एवं राजनीतिक माध्यामबाट गर्न सरकारलाई आह्वान पनि गरेको छ ।बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन बल्खुस्थित आफ्नै जमिनमा बनाउने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गरेको छ ।

    आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय बैठकले गरेको छ । भवन बनाउनका लागि पार्टीका सम्पूर्ण सदस्यहरुको न्यूनतम एकदिनको तलव वा आम्दानी बराबरको सहयोग गर्न पनि बैठकले अपिल गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ