• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    कहाँ बसेर के गर्दैछन् विप्लव ? ओली सरकारलाई काउन्टर दिन बन्दैछ यस्तो योजना

    28.3K
    SHARES

    समिर चन्द, काठमाडौं । मंसिर ८ नजिकिदै गर्दा नेकपा महासचिव विप्लवको चर्चा पनि व्यापक बन्यो । मंसिर ८ गते नेकपाले पार्टी पुनर्गठनको अवसरमा काठमाडौंमा बृहत कार्यक्रमको आयोजना गर्यो । हजारौंको संख्यामा नेता कार्यकर्ताहरु काठमाडौं आए ।

    नेकपाको शक्तिलाई सामान्यरुपमा बुझेकाहरुलाई मंसिर ८ को कार्यक्रमको जनसागरले चकित मात्रै पारेन यो पार्टी संसदीय पार्टीहरुको विकल्पकोरुपमा उभिदै गइरहेको छ भनेर सोच्न पनि बाध्य पारेको छ ।

    देशमा समानान्तर सत्ताको अभ्यास गरिरहेको नेकपाले अहिले गाउँ, सहरमा एकीकृतरुपमा आफ्ना कार्यक्रमहरु व्यापक बनाएको छ । ठिक यहि बिचमा नेकपासहित केहि अन्य समुहसँग बार्ता गर्ने भन्दै सरकारले बार्ता टोली गठन गर्यो तर एकातिर नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने अर्कोतिर बार्तामा बोलाउने ओली सरकारको दोहोरो चरित्रलाई चिन्न नेकपा महासचिव विप्लवलाई कुनै आइतबार कुर्नु परेन।

    बार्ता आव्हान गरेकै समयमा पार्टीका प्रभाकारी नेताहरु गिरफ्तार परेपछि अन्ततः विप्लव भने- ‘यो बार्ताको आव्हान मिठाइको लेपन लगाइएको बिषको चक्की हो।’ अर्थात् विप्लवले बार्ता अस्वीकार गरे । त्यसपछि बार्ताका विषयमा नेकपाका नेताहरुले बोलेको खासै सुनिएन ।

    लामो समयपछि यहि पुष १२ गते यता बुधबार भने  पार्टीका स्थायी समिति सदस्य सुदर्शनले पनि वार्ताको कुनै औचित्य नरहेकोबारे प्रष्ट पारे । १२६ औ माओदिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुदर्शनले भनेका थिए- ‘हामी वार्तामा बसौला तर हिजो युद्धमा १७ हजार जनताले रगत बगाएका छन्, ४० हजार जनमुक्ति सेना थिए, ८० प्रतिशत जनसत्ताको विषय के हुन्छ ?’ ।

    त्यसको ठिक अर्को दिन अर्थात् पुष १३ गते सरकारले गठन गरेको अधिकारसम्पन्न उच्चस्तरीय राजनीतिक वार्ता टोलीले पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफूहरुसँग वार्ता गर्न नमानेको बतायो ।

    आफ्नो म्याद सकिएको भोलिपल्ट प्रगति विवरण सुनाउन बार्ता टोलीले पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा वार्ता टोलीले विप्लव नेतृत्वको नेकपाले वार्ताका लागि सकारात्मक अग्रसरता नलिएको आरोप लगाएको थियो ।

    ‘नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग यस वार्ता टोलीको तर्फबाट संयोजक र सदस्यहरुले अनौपचारिक रुपमा केन्द्रीय स्तरका नेताहरुसँग धेरै पटक संवाद गरेता पनि नेकपाले वार्ताका लागि सकारात्मक अग्रसरता नलिएको हुँदा वार्ता प्रक्रिया अघि बढ्न सकेन’ संयोजक सोमप्रसाद पाण्डेले भने ।

    स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कारमा शसक्तरुपमा देखिएको नेकपाले अहिले पनि सङ्गठन बिस्तार र सुदृढ अभियानलाई तिब्रताका साथ अघि बढाईरहेको छ । गाउँ गाउँ- टोलटोल देखि सहरबजारसम्म नेकपाले जनसभाहरु गर्दै हिडिरहेको छ । जनसभामा जनताको सहभागीता उतिक्कै उल्लेख मात्रामा देखिन्छ ।

    अन्य पार्टीहरु परित्याग गरेर नेकपा प्रवेश गर्नेहरुको पनि लहरै चलेको देखिन्छ । यो सबै कृयाकलापहरुलाई नियालिरहँदा धेरैका मनमा एउटा प्रश्न उब्जिएको छ । आँखिर नेकपा महासचिव विप्लव कहाँ छन् ? धेरैले मंसिर ८ को बिशाल जनसभालाई सम्बोधन गर्न विप्लव आफै आउने अड्कलबाजी गरेका थिए । तर ति सबै अनुमानहरु मिथ्या भए ।

    उसो त नेकपा नेताहरुलाई यो प्रश्न गर्ने हो भने विप्लव यतिबेला जनतासँग छन् । जनताको घरमा पाकेको खाना खान्छन् र जनताकै घरमा सुत्छन भनेर नेकपा नेता कार्यकर्ताहरु भन्दै आएका छन् । नेकापाका एक नेताले संचारकेन्द्रसंग भने- ‘महासचिव कमरेड विप्लव जनतासँगै हुनुहुन्छ । उहाँलाई आवतजावतका लागि महँगाे गाडी चाहिदैन, अहिलेका कथित कम्युनिष्टहरुलाईजस्तो हवाईजहाज र हेलिकप्टर पनि चाहिदैन ।’

    विप्लव भूमिगत भएका हुन् ? भन्ने हाम्रो प्रश्नमा ति नेताले भने – ‘जनताको मुक्तिका लागि, राष्ट्रको परिवर्तनका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर अघि बढिरहेको हाम्रो पार्टीका महासचिव भूमिगत हुन आवश्यक नै छैन । भूमिगत हुने पालो अब दलाल,राष्ट्रघाती, गद्दारहरुको आउदैछ । यिनीहरुले भूमिगत मात्रै भएर पुग्दैन अब देश नै छोडेर भाग्नुपर्ने समय आउदैछ।’

    एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार गाउँ र सहरबाट सँगसँगै भ्रष्ट्राचारी, दलाल, घुसखोर र देश बिगार्ने तत्वहरुलाई एकसाथ लखेट्ने उनले बताए ।

    नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सकिएको छ । केहिदिनअघि सम्पन्न बैठकले ओली सरकारलाई काउन्टर दिने खालका महत्वपूर्ण निर्णयहरु गरेको नेकपाका एक नेताले बताए ।

    बैठकले २ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने बर्तमान ओली सरकार असफल भएको पनि निष्कर्ष निकालेको छ । जनता समस्यामा रहेका बेला देश सङ्कटमा फसेको भन्दै यस्तो अवस्थामा आफ्नो पार्टी क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरहेको नेकपाले जनाएको छ।

    यसैबीच नेकापा स्थायी कमिटी बैठक सकिएको छ । वैठकले सरकारसँग वाता नगर्ने निर्णय पनि गरेको छ । औपचारिक रूपमा सरकारले वार्ताका लागि एजेन्डासहित प्रस्ताव नगरेको र वार्ता गरेजस्तो नाटक गरेर झुक्याउने खेल भएको भन्दै नेकपाले सरकारसँग वार्ताको कुनै औचित्य नरहेको निष्कर्ष निकालेको हो ।

    बैठकले माघ र फागुन महिनामा जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले यो अभियान सञ्चालन गर्नुपूर्व पार्टीका नेताहरूको जिम्मेवारी क्षेत्र हेरफेर गर्ने निर्णय पनि गरेको छ ।

    बैठकपछि एक अपिल सार्वजनिक गर्दै नेकपाले भनेको छ-, ‘सामाजिक दलाल सरकार असफल भएको छ । जनता समस्यामा छन् । देश सङ्कटमा छ । क्रान्ति अगाडि आउँदैछ । हाम्रो पार्टी क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरहेको छ ।’

    अपिलमा अघि भनेको छ, ‘२०७४ सालको चुनावमा केपी—प्रचण्डले दिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’, ‘गाउँगाउँ सिंहदरबार’को नारा आज ‘दुःखी नेपाली, कङ्गाल नेपाल’, ‘गाउँगाउँमा भ्रष्टाचार, बलात्कार’मा परिणत हुन पुगेको छ । भोट हाल्दा नेपाली जनताले गरेको सुख र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असङ्ख्य करको भारी, भ्रष्टाचार, महँगी, तस्करी, राष्ट्रघात, निर्मला बलात्कार तथा हत्याकाण्ड, ठूलो जहाजकाण्ड, चिनीकाण्ड, बूढीगण्डकीकाण्ड, चन्द्रागिरिकाण्ड, एनसेलकाण्ड, क्रिस्चियन धर्म प्रचारकाण्डजस्ता काण्डैकाण्डको आतङ्कमा परेर समाप्त भएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा अरू छैन ।’

    वर्तमान सरकारले जति नै समाजवादको कुरा गरे पनि ऊ फासिवादतिर उन्मुख भएको भन्दै ‘देशमा जति नै विकासको नारा दिए पनि उद्योगधन्दाको अवस्था कमजोर भएर गएको छ । व्यापारघाटा बढेको बढ्यै छ । महँगीले जनताको ढाड भाँचेको छ । अर्थतन्त्र दलाल र सुदखोरहरूको हातमा पुगेको छ । राष्ट्र बैङ्कबाट सस्तो दरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैङ्क माफियाहरूले जनतालाई लुटेका छन् । उब्जाउ जमिन भूमाफियाको खण्डीकरणमा परेर बर्बाद भएका छन् ।

    युवा पलायन बढ्दै गएकोप्रति नेकपाले चिन्ता व्यक्त गरेको छ । ‘एमाले–माकेहरूले खुलेआम वेश्यालय खोली यौन व्यवसायबाट पैसा कमाउने कुरा गरेर पुँजीवादीहरूको छाडापनलाई पनि उछिनेका छन् । नदीनाला बेचेर खाने क्रम जारी छ । महिलाहरूमाथि मध्ययुगीन हिंसा थोपरिँदैछ, शिक्षा, स्वास्थ्य क्षेत्र व्यापारीकरणमा परेर तहसनहस बन्दै गएको छ ।’ अपिलमा भनिएको छ- ‘न्यायको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि झुट्टामुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिँदैछ । यी सबैबाट देश सङ्कटमा परेको प्रष्ट छ ।’

    अहिलेको सरकार सबैतिर असफल भएको भन्दै अपिलमा उल्लेख छ, ‘सामाजिक दलाल सरकारको असफलता र देशको सङ्कटलाई एमाले–माकेका केही नेताले केपी ओलीको असफलता भनेर सरकारमा आफू पुग्ने खेल खेलेका छन् । काङ्ग्रेस— राप्रपाले ‘कम्युनिस्ट सरकार’को असफलता भनेर आफू सरकारमा पुग्ने वा चुनावी नारा बनाउन खोजेका छन् । केही पार्टीले काङ्ग्रेस, कम्युनिस्टको असफलता भन्दै आफूहरू सरकारमा आउनुपर्ने नारा दिएका छन् तर हाम्रो पार्टीको सुरुदेखिको धारणा छ– यो असफलता र सङ्कट केवल सरकार र मन्त्रीहरूको मात्र होइन दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र सामाजिक दलाल पुँजीवादको असफलता र सङ्कट हो । यसको समाधान भनेको केपी सरकारको परिवर्तन, एमाले–माके सरकारको परिवर्तन होइन र हुन सक्दैन । दलाल पुँजीवादी सत्तालाई नै जरैबाट उखेलेर फाल्नु र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हो । आजसम्म जनताले ठूलो बलिदान गर्दा पनि प्राप्त हुन नसकेको जनताको सत्ताको निर्माण हो ।’

    अपिलको अन्त्यमा भनिएको छ, ‘जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे । एमाले–माके संशोधनवादी कम्युनिस्टलाई हेरे । कसैले पनि जनता र देशको हितमा काम गर्न सकेनन् । त्यसको एउटै विकल्प वैज्ञानिक समाजवाद हो भन्ने बुझ्न अब कुनै अस्पष्टता छैन । हाम्रो पूरा प्रतिबद्धता छ– जनता, देश, वैज्ञानिक समाजवादभन्दा अर्को कुनै हाम्रो स्वार्थ छैन । त्यसका लागि जुन कुनै मूल्य चुकाउन तयार छौँ । तसर्थ २१औँ सदीमा जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरू एकताबद्ध बनेर हातेमालो गरौँ । जनताको विजय अवश्यम्भावी छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ