काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ) हरूले पाएका वैदेशिक सहायता विवरण पेश गर्न समाज कल्याण परिषद्लाई पत्र पठाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने, “हामीले जाँचबुझको सिलसिलामा समाजकल्याण परिषद्बाट एक वर्षको अवधिको सहयोगको विवरण मागेका हौं। विवरण मागिएको हो, त्यसबाहेक अहिले केही होइन।”
जेन–जी आन्दोलनमा सक्रिय केही व्यक्ति र उनीहरू आबद्ध संघसंस्थामाथि उठेका प्रश्नहरूको पृष्ठभूमिमा आयोगले समाजकल्याण परिषद्मार्फत आएका अनुदानको रकम र खर्चको विवरण मागेको हो। कुनै निश्चित संस्था वा क्षेत्र मात्र नभई समग्र देशभरका संघसंस्थाहरूमा आएको सहायताको विवरण मागिएको कार्कीले बताए।
आयोगले मागेको विवरणमा वैदेशिक सहायताबाट सञ्चालित एनजीओहरूको मात्रै विवरण समावेश हुन्छ। नेपालभित्रै सञ्चालन हुने र नेपालबाटै अनुदान पाउने संस्थाहरूले समाजकल्याण परिषद्मा नभई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफ्नो विवरण र लेखापरीक्षण प्रतिवेदन बुझाउँछन्।
प्रतिक्रिया