काठमाडौं । नेपाल प्रहरीले गरेको अनुसन्धानमा भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’का क्रममा तोडफोड, आगजनी, लुटपाट र प्रहरीमाथि आक्रमणमा संलग्न अधिकांश व्यक्तिहरू पहिले नै आपराधिक पृष्ठभूमि भएका रहेको खुलेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म देशभरबाट २४६ जना पक्राउ परेका छन्, जसमा मात्रै काठमाडौं उपत्यकाबाट १८९ जना रहेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पक्राउ परेकामध्ये करिब ८० प्रतिशत व्यक्तिले यसअघि ठगी, बैंकिङ कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधसम्बन्धी मुद्दा खेपिसकेका थिए।
प्रहरी अनुसन्धानले आन्दोलनमा संलग्न केही व्यक्तिहरूका पुराना आपराधिक मुद्दा सार्वजनिक गरेको छ। अर्जुन शाही, ‘हामी नेपाल’ नामक संस्थासँग जोडिएका उनी सरकारी कार्यालयमा धम्क्याउने भिडियो सार्वजनिक भएपछि पक्राउ परेका हुन्। अनुसन्धानले उनलाई चेक बाउन्स र ठगीका आठ मुद्दामा फरार अभियुक्त देखाएको छ।
राजु परियार (सम्राट) आन्दोलनका क्रममा प्रहरीको लुटिएको हतियारसहित अर्धनग्न अवस्थामा देखिएका थिए। उनी पनि ठगी, बैंकिङ कसुर र ज्यान मार्ने उद्योगका आठ मुद्दामा फरार रहेको खुलेको छ। गौतम घिसिङ (दोलखा), जसले प्रहरीलाई बर्दी उतार्न लगाएको भिडियो भाइरल भएको थियो, बैंकिङ कसुरका दुई मुद्दामा आरोपी रहेका छन्। दावा तेन्जिङ, टिब्बटेन ओरिजिनल ब्लड (TOB) समूहका प्रमुख, किर्ते नागरिकता बनाएर आन्दोलन भड्काएको आरोपमा पक्राउ परेका छन्।
प्रहरी हत्या र आगजनीमा जेल चलान
प्रहरीले अहिलेसम्म ६ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ। तीमध्ये होमप्रसाद पौडेल, टीकाराम विक, बुद्धिलाल तामाङ र युवराज क्याप्छाकी प्रहरी हत्या अभियोगमा, भने रोहित सरावगी र नीरज पोद्दार जनसेवा प्रहरी वृत्तमा आगजनी अभियोगमा जेल चलान भएका हुन्।
आन्दोलनका क्रममा लुटिएका करिब १,५०० थान हतियारमध्ये १,१०० थान बरामद गरिएको प्रहरीले जनाएको छ। तर ४०० थान हतियार अझै हराइरहेका छन्। केही जलेको अवस्थामा भेटिए पनि धेरै अझै खोजी सूचीमा छन्। काठमाडौँ प्रहरी परिसरले दैनिक करिब १५० जनासँग सोधपुछ गरिरहेको छ, जसमा तीनदेखि पाँचजना नियमित रूपमा पक्राउ पर्ने गरेका छन्। हाल हत्या, आगजनी, लुटपाट र हतियार लुटपाटका घटनामा प्राथमिकता दिइएको प्रहरी स्रोतले बतायो।
सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको विवरण मुचुल्का संकलन गरेर पछि विस्तृत रूपमा अनुसन्धान गर्ने तयारीमा प्रहरीले जनाएको छ। एसपी पवन भट्टराईका अनुसार,“अहिले गर्नैपर्ने विषयमा अनुसन्धान भइरहेको छ। हरेक दिन १५० जनासँग सोधपुछ हुन्छ, तीमध्ये ८० प्रतिशत आपराधिक पृष्ठभूमिका देखिन्छन्।”
प्रहरीको निष्कर्ष अनुसार, ‘जेन–जी आन्दोलन’ राजनीतिक वा सामाजिक मागमात्र होइन, आपराधिक समूहहरूले अवसर खोजी गरेर भड्काएको हिंसात्मक गतिविधिमा रूपान्तरण भएको देखिन्छ।
प्रतिक्रिया