काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीबिचको एकता कुनै रणनीतिक नभएको स्पष्ट पारेका छन् ।
बुधबार राष्ट्रिय सभागृहमा आयोजना भएको एकता समायोजन सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको आवश्यकता र जेनजी विद्रोहको समीक्षाका आधारमा एकता भएको जिकिर गरे ।
‘यो एकता कुनै ट्याक्टीकल एकता होइन । त्यसरी नबुझिदिनुहोला । राष्ट्र बचाउनका लागि एकता भएको हो । अर्को जेनजी विद्रोहले नेपाली समाजमा राम्रोसँग घच्घचायो’, उनले भने, ‘त्यस विद्रोहले आफूलाई सच्याउने, आफैलाई समीक्षा गर्ने स्थितिमा आइपुग्यो । जेनजी युवाहरूले सुशासन, नेतृत्वको रूपान्तरणको पक्षमा विद्रोह नगरेको भए यो एकता यति छिनो हुने थिएन । त्यसकालागि म ती जेनजी युवालाई धन्यवाद दिन चाहन्छु । यो एकता दीर्घकालीन रणनीति र कम्युनिस्ट एकतालाई टिकाइराख्ने उद्देश्यले भएको हो ।’
कार्यक्रममा प्रचण्डले वामपन्थी एकताले अन्य पार्टी नै नहुने हो कि भन्ने स्थिति आएको बताए । उनले भने–‘वामपन्थी १२ घटक बिच एकता भयो । केही समयपछि थपिँदै छन् । आजै पेरिसडाँडामा नेताहरूसँग छलफल थियो । त्यहाँ मैले यही तरिकाले एकता हुने भयो भने देशमा पार्टी नै नहुने हो कि भनेर प्रतिकात्मक रूपमा भनेको थिएँ ।’
अघिल्लो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच भएको एकता केपी ओलीको अहङ्कार र दम्भले विघटन भएको आरोप लगाए ।
प्रतिक्रिया