काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने औपचारिक राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । नेपाल एयरलाइन्सको विमानमार्फत केहीबेर अघि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य तथा राजनीतिक सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीसहित ३४ जना सहभागी छन् ।
यसका साथै निजी क्षेत्रबाट ५२ जना व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सामेल भएको छ । विमानस्थलबाट सिधै होटल ताजमहल प्रस्थान गर्ने प्रधानमन्त्री शाहसँग आज साँझ ६ बजे सोही होटलमा भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । आजका लागि भने अन्य औपचारिक कार्यक्रम तय भएका छैनन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य दिन भोलि मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाटको व्यस्त कार्यतालिका रहेको छ । भोलि बिहान १० बजे नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि उनले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग करिब आधा घण्टा एक्लाएक्लै र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् ।
वार्तापछि मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा समझदारीपत्र (एमओयू) आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलन आयोजना हुनेछ ।
भेटवार्ताका क्रममा विशेषगरी व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र पूर्वाधार विकासका क्षेत्रमा आर्थिक सहकार्य बढाउने विषयमा छलफल हुनेछ । सोही अवसरमा ऊर्जा र कनेक्टिभिटीसँग सम्बन्धित सम्पन्न भइसकेका परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम समेत तय भएको छ । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा पनि दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
भोलि नै अपराह्न सवा ३ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ बजेर ५० मिनेटमा दिल्लीबाट स्वदेश फर्कने तालिका छ । नेपाल सरकारले यो भ्रमण पूर्ण रूपमा राष्ट्रहितमा केन्द्रित रहने र यसले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी सहकार्य थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया