• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    छठ पर्वको दोस्रो दिन आज ‘खरना’

    115
    SHARES



    काठमाडौँ । मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले श्रद्धा, निष्ठा र लोकआस्थाको महान् पर्व ‘छठ’ को उल्लास छाएको छ। चार दिनसम्म मनाइने यस महापर्वको दोस्रो दिन आज बर्तालुहरू ‘खरना’ विधिको तयारीमा जुटेका छन्। यसअघि पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधिसँगै बर्तालुले व्रत सङ्कल्प गरिसकेका छन्।

    पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिका दिन बिहानै पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसिन्छ। त्यसपछि राति सख्खरमा पकाइएको खीर कुल देवता र छठी मातालाई चढाएर प्रसाद ग्रहण गर्ने गरिन्छ। मैथिली संस्कृतिमा यो महत्त्वपूर्ण विधिलाई ‘खरना’ भनिन्छ।

    निष्ठा र शुद्धताको प्रतीक ‘खरना’

    छठ पर्वलाई मिथिलामा लोकआस्थाको महापर्व भनिन्छ, जसको आधार श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धि हो। आज दिनभरि उपवास बसेका बर्तालुले बेलुका चन्द्रदर्शन गरेपछि माटोको नयाँ चुलो र नयाँ भाँडामा सख्खर, दूध र स्थानीय जातको धानको चामल मिसाएर खीर पकाउँछन्। यो खीर केराको पातमा राखेर छठी मातालाई चढाएपछि बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा ग्रहण गर्छन्। सूर्यास्तपछि चन्द्रदर्शन गरेसँगै यो विधि सम्पन्न हुन्छ।

    मुख्य दिन : भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

    पर्वको तेस्रो दिन अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा बर्तालुहरू कठोर निराहार व्रत बसिन्छन्। साँझपख उनीहरू नजिकैका जलाशयमा निर्माण गरिएका आकर्षक घाटमा पुगी कम्मरम्म डुब्ने पानीमा प्रवेश गरेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन्। मिथिलामा यसलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ।

    त्यसपछि चौथो तथा अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि पर्व समापन हुन्छ। यसलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। अर्घ्य दिँदा पहילה जटासहितको नरिवल र क्रमशः पर्वका लागि तयार पारिएका मिष्टान्न परिकार तथा केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ।

    छठ पर्वमा चढाइने प्रसादका रूपमा ठकुवा, भुसुवा लगायतका मिष्टान्न परिकार बनाइन्छन्, जुन पारम्परिक रूपमा ढिकी र जाँतोमा कुटिएर तयार पारिएको पिठोबाटै बनाउने चलन छ। तयार गरिएका यी परिकार इष्टमित्रलाई घरमै बोलाएर खुवाउने तथा नातेदारकहाँ पुर्‍याउने गरिन्छ। पूजाका लागि जलाशय किनारमा आकर्षक र कलात्मक घाटहरू सजाएका हुन्छन्।

    केही वर्षअघिसम्म मधेसी समुदायमा मात्र सीमित रहेको यो पर्व अहिले पर्वते समुदायमा समेत उत्तिकै उत्साहका साथ मनाउन थालिएको छ। मिथिला क्षेत्रमा इस्लाम धर्मावलम्बीहरूले समेत बर्तालुमार्फत आफ्ना मनकामनाको भाकल सूर्यदेवलाई चढाउन लगाउने गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ