आजको विश्वमा सामाजिक सञ्जाल सूचना प्रवाहको सबैभन्दा छिटो र प्रभावकारी माध्यम बनेको छ। नेपालमै पनि २०२५ सम्म आइपुग्दा करिब ९१ प्रतिशत अर्थात् साढे २ करोड बढी इन्टरनेट प्रयोगकर्तामध्ये झण्डै ९० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ता छन्।
यसले प्रमाणित गर्छ कि फेसबुक, एक्स (ट्विटर), युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप वा टिकटक केवल मनोरञ्जनका प्लेटफर्म मात्र होइनन्, सूचना, व्यापार, शिक्षा र नागरिक आवाज अभिव्यक्त गर्ने प्रमुख साधान हुन्।
सरकारले यिनलाई दर्ता नगरेसम्म बन्द गर्ने चेतावनी दिएको छ। प्रश्न यो हो—के बन्द गर्ने नीति नै दीर्घकालीन समाधान हो ? नेपालको संविधानले प्रत्येक नागरिकलाई वाक स्वतन्त्रता र सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ। सामाजिक सञ्जाल बन्द गर्नु भनेको नागरिकलाई विचार अभिव्यक्त गर्ने सार्वजनिक मञ्च खोस्नु हो।
यसबाहेक, गाउँदेखि शहरसम्मका नागरिकले समाचार पोर्टल पढ्नुभन्दा पहिले अहिलेको समयमा सामाजिक सञ्जालमार्फतै समाचार भेट्ने गरेका छन्। यस्तो अवस्थामा सञ्जाल बन्द हुनु भनेको लाखौँ नागरिकलाई सूचनाबाट बञ्चित बनाउनु हो।
हो, सामाजिक सञ्जालमा गलत सूचना, अफवाह वा घृणास्पद अभिव्यक्ति फैलिन सक्छन्। तर यसको समाधान सञ्जाल बन्द गर्नु होइन। बरु डिजिटल साक्षरता अभिवृद्धि गरेर नागरिकलाई तथ्य र अफवाह छुट्याउन सक्षम बनाउन सकिन्छ । तथ्य-जाँच संयन्त्र बलियो बनाएर मिडिया र राज्य संस्थाले सहकार्य गरेर गलत सूचना सच्याउन सक्छन ।
सामाजिक सञ्जाल कम्पनीहरूसँग सहकार्य गरेर स्थानीय कानुनअनुसार सामग्री व्यवस्थापन गर्ने साझेदारी गर्न सकिन्छ । भारत, जर्मनी, फ्रान्सजस्ता देशले नियमनलाई प्राथमिकता दिएका छन्, तर सञ्जाल बन्द गर्ने चरम कदम उठाएका छैनन्।
अन्तर्राष्ट्रिय दृष्टान्त समेत हेर्ने हो भने भारतमा गलत सूचना नियन्त्रण गर्न IT Rules 2021 ल्याइयो, तर फेसबुक वा ट्विटर बन्द गरिएको छैन।
जर्मनीमा NetzDG Law अर्थात् Network Enforcement Act अन्तर्गत घृणास्पद सामग्री हटाउन दबाब दिइन्छ, तर प्लेटफर्मलाई खुला राखिएको छ।
सामाजिक सञ्जाललाई बन्द गर्नु समाधान होइन, यो त लोकतन्त्रकै आत्मा कमजोर पार्ने निर्णय हुनेछ। राज्यले जिम्मेवार नियमन, नागरिक सचेतना र अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने विधि रोज्नुपर्छ। सामाजिक सञ्जाल बन्द गर्नु भनेको जनताको आवाज र सूचनाको मुख्य स्रोत नै बन्द गर्नु हो ।
आजको युग सूचनाको डिजिटल युग हो। यो युगमा सोसल मिडिया बन्दको सोच भनेको अभिव्यक्त स्वतन्त्रतामाथि अंकुश लगाउने नियत बाहेक अरु केहि होइन ।
प्रतिक्रिया