काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
स्वास्थ्य व्यवसायी संघको तर्फबाट माधव पौडेलले दिएको उजुरीमा डा. गौतमले भक्तपुर अस्पतालको मेसु हुँदा सप्लायर्ससँग मिलेर राज्यलाई करोडौं रुपैयाँ घाटा पुर्याएको उल्लेख छ । अस्पतालको लागि सिटी स्क्यान मेसिनलगायतका उपकरण खरिदमा स्पेक लक गरी आफू अनुकलको व्यवसायीलाई सेटिङ्गमा ठेक्का दिएको भन्दै उजुरीमा कारवाहीको माग गरिएको छ ।
‘ल्याबका मेसिन, सिटी स्क्यानलगायत अन्य मेसिनमा खरिदमा स्पेक बनाउँदा आफू अनुकुल व्यपारीलाई हुने गरी गरिएको छ । निजको कार्यालयमा भएको सम्पूर्ण खरिदका उपकरण मेडिसिन खरिद छानबिन गरी पाउँ’ उजुरीमा उल्लेख छ ।
त्यसैगरी डा. गौतम स्वास्थ्य सेवा विभागमा विशेषज्ञको रुपमा गई ३० करोडको मेसिन खरिदमा १० करोड भ्रष्टाचार गरेर अल्ट्रासाउण्ड मेसिन खरिद गरेको दाबी पनि उजुरीमा गरिएको छ । उजुरीमा सिन्धुली अस्पताल प्रदेशको १ नम्बरमा सेवा प्रवाह गरिएको भनेर ९७ अंक प्राप्त गरेको झुठ समाचार बनाउन लगाएको तर उनि सरुवा भएपछि अर्को आर्थिक बर्षमा ५७ अंक मात्र पाएको बताइएको छ ।
डा. गौतमले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानबिन गरी कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया