काठमाडौं । वामपन्थी दलबीच फेरि पनि एकताको चर्चा सुरु भएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन औपचारिक प्रस्ताव गरेका छन्।
सो प्रस्तावपछि अध्यक्ष राईले तत्काल पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्। राईका अनुसार बैठक आज बिहान साढे ११ बजे काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। राईले प्रचण्ड–माधव नेपालको प्रस्ताव आएको पुष्टि गर्दै भने, “पार्टी एकता गरौं, नभए मोर्चाबन्दी गरौं भन्ने सुझाव प्रचण्ड र माधव नेपालजी लगायत दुई–चार दलबाट आएको छ। त्यसबारेमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्छौं।”
राईका अनुसार बैठकमा पार्टी एकता वा सहकार्यका प्रस्तावहरूमाथि गहन छलफल हुनेछ। साथै, आगामी निर्वाचन रणनीति, भदौको ‘जेनजी आन्दोलन’पछिको राजनीतिक अवस्था र दलबीचको मोर्चाबन्दीबारे पनि निर्णय लिइनेछ। अध्यक्ष राईले राष्ट्रिय मुक्ति पार्टीबाट पनि समान प्रकृतिको एकता वा सहकार्यको प्रस्ताव आएको खुलासा गरेका छन्। उनले भने,
“एक्लै जाने कि, मिलेर जाने, नयाँ दलहरूसँग सहकार्य गर्ने कि पुराना दलहरूसँग मिल्ने भन्ने निर्णय अहिले नै गर्न सकिने अवस्था छैन। त्यसबारेमा केन्द्रीय समिति बैठकले निष्कर्ष निकाल्नेछ।” यो पहलसँगै देशको वाम राजनीतिक वृत्तमा फेरि पनि संयुक्त मोर्चा वा सम्भावित एकताको सम्भावना बलियो देखिएको छ।
प्रतिक्रिया