• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    ट्रम्पले इरानी सर्वोच्च नेता खामेनीको हत्या गर्ने इसराइलको योजना रोकेको खुलासा

    2K
    SHARES



    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयातोल्लाह अल खामेनीको हत्या गर्ने इसराइलको योजना रोकेको खुलेको छ।

    विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इसराइलले इरानी सर्वोच्च नेता खामेनीको हत्या गर्ने मौका उपलब्ध भएको भनेर ट्रम्पसँग परामर्श गरेका थिए। तर ट्रम्पले त्यसलाई ठाडै अस्वीकार गरिदिएको ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

    ट्रम्पले इसराइल र इरानबीचको तनावबाट हाल अमेरिकी टाढै बस्न चाहेको पनि नेतन्याहूलाई बताएका थिए। त्यसकारण क्षेत्रीय द्वन्द्व थप नबढाउन र खामेनीको हत्या गर्ने योजनाबाट पछि हट्न उनले नेतन्याहूलाई निर्देशन दिएको ह्वाइट हाउसका दुई जना अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा भनेका छन्।

    इसराइली प्रधानमन्त्री नेतन्याहूसँग फक्स न्युजका ब्रेट बेइरले यस विषयममा सोधेका थिए। नेतन्याहूले ट्रम्पले अस्वीकार गरेको विषयमा सिधै नभने पनि असहमति भने जनाएनन्।

    ‘तपाईंलाई म यत्ति भन्न सक्छु कि हामीले गर्नुपर्ने काम गरिरहेका छौं। जे गर्नुपर्छ त्यो गर्छौं। अमेरिकाले पनि आफ्ना लागि के राम्रो के नराम्रो भन्ने राम्ररी बुझेको छ,’ नेतन्याहूले भनेका छन्।

    शुक्रबार इरानमाथि आक्रमण गरेपछि इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले लगातार ट्रम्पसँग सम्पर्क र कुराकानी गरिरहेका छन्। सोही क्रममा उनले खामेनीको हत्या गर्ने योजना सुनाउँदा ट्रम्पले अस्वीकार गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    उनले खामेनीलाई चाहिँ तत्काल नमार्नू भनेर निर्देशन दिएका थिए। उनले अमेरिका दुई देशबीचको द्वन्द्वमा तत्काल प्रत्यक्ष संलग्न हुन नचाहेको खुलाएका थिए।

    ट्रम्पले अझै पनि इरानसँग परमाणू कार्यक्रम रोक्नेबारेको वार्ता हुने विश्वास राखेको र आक्रमण रोकेर वार्तामा आउन पटकपटक आग्रह पनि गरेका छन्। यद्यपि ओमानको मस्कटमा आइतबार हुने भनिएको वार्ता रद्द भएको थियो।

    ट्रम्पले दुई महिनाअघि इसराइललाई रोकेर इरानसँग आफै वार्ता थालेका थिए। दुई महिनाअघि नै इसराइलले इरानको परमाणु कार्यक्रममाथि लक्ष्य गरेर हमला गर्ने तयारी गरेको थियो। ट्रम्पले सम्झौताका लागि आफूलाई दुई महिनाको समय दिन भनेपछि इसराइलले आक्रमण रोकेको थियो। ट्रम्पले त्यतिबेलै दुई महिनामा पनि सम्झौता नभए इसराइलले इरानमाथि हमला गर्न सक्ने भनेका थिए। पाँच पटकसम्मको वार्तमा पनि सहमति नजुटेपछि इसराइलले शुक्रबार इरानमा अचानक हमला गरेको थियो।

    शुक्रबार इसराइलले इरानमा २०० लडाकू विमानसहित तीन सय हाराहारीमा हतियार प्रयोग गरी आक्रमण गर्दा वरिष्ठ सैन्य अधिकारी र परमाणु वैज्ञानिकहरू पनि मारिएका थिए।

    इसराइलको आक्रमणबाट इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    यसरी प्रमुख सैन्य अधिकारीहरु नै मारिएपछि इरानी सेनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ। सर्वोच्च नेता आयातोल्लाह अल खामेनीले ब्रिगेडियर जनरल मोहम्मद पाकपोरलाई रिभोलुसनरी गार्डका प्रमुख नियुक्त गरेका छन्।

    बाघेरीको ठाउँमा मेजर जनरल सैयद अबदुलरहिम मौसावीलाई सेना प्रमुख र रसिदको ठाउँमा अली शदमानीलाई खताम अल अनबिया मुख्यालय प्रमुख नियुक्त गरेका छन्।

    मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामी लगायतका परमाणु वैज्ञानिकहरु इसराइली हमलामा मारिएका हुन्। इसराइलले इरानविरूद्धको हमलालाई अपरेशन लायन नाम दिएको छ। इसराइल-इरान संघर्ष चौथो दिनमा प्रवेश गरेको छ।

    दुवै देशले एक अर्कामाथि प्रहार गरिरहेका छन्। दुवै देशले भौतिक र मानवीय क्षति ब्यहोरिरहेका छन्। शुक्रबार कमजोर देखिएको इरानले शनिबारदेखि इसराइलमाथि सशक्त प्रहार गरिरहेको छ। उसले शनिबारदेखि नयाँ प्रविधिको मिसाइल प्रयोग गरेको दाबी गरेको छ।

    इसराइलले इरानको आणविक हतियार कारखाना र तेल भण्डारमा लक्ष्य गरी हमला गरिरहेको छ। इरानले पनि सैन्य र हवाइ अड्डाहरूलाई लक्ष्य गरी हमला गरिरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ