काठमाडौँ । नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भई ६ वर्ष कैद काटेर छुटेलगत्तै समातिएका युनुश अन्सारी अदालत पुगेका छन् । अन्सारी जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए ।
छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको थियो । सीआईबीले उनीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
२०७६ जेठ १० मा अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो ।
सो घटनामा अन्सारीलाई अदालतले ६ वर्ष कैद सजाय र ६० हजार जरिवाना ठहर गरेको थियो । उनलाई सुरुमा केन्द्रीय कारागारमा सुन्धारामा राखिएकोमा कारागारभित्रै भारतीय सुटर मनमित भटियाले हत्या प्रयास गरेका थिए । त्यसपछि नख्खु कारागार सारिएको थियो ।
कैद कट्टालगत्तै पुनः समातिएपछि अन्सारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर शुक्रबार उच्च अदालत पाटन पुगेका हुन् । उनले नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान सम्पत्ति शुद्धीकरण शाखा, कारागार कार्यालय नख्खु र जिल्ला अदालत काठमाडौँलाई विपक्षी बनाएका छन् ।
उनको रिटमाथि आज पेसी तोकिएको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा अन्सारीले दायर गरेको बन्दी रिटमाथि सुनुवाइ हुँदैछ ।
प्रतिक्रिया