काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महामन्त्री र केन्द्रीय सदस्य पदबाट निष्कासित डा. मुकुल ढकालले आफूलाई पार्टीको महामन्त्रीकै रुपमा कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
ढकालले निर्वाचन आयोगको अभिलेखमा आफू अझै पार्टीको महामन्त्री र प्रवक्ता रहेको उल्लेख गर्दै सो विवरण यथावत् राख्नुपर्ने र पार्टीभित्र महामन्त्रीको हैसियतमा काम गर्न दिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका हुन्। उक्त निवेदनमाथि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ।
रास्वपाले हालै कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्तामा मनोनयन गर्ने निर्णय गर्दै ढकाललाई पार्टीबाट निष्कासन गरेको थियो। तर ढकाल भन्छन्, “निर्वाचन आयोगको अभिलेखमा म नै महामन्त्री र प्रवक्ता भनेर उल्लेख छ, त्यसलाई नहटाइ यथावत् राख्नुपर्छ भन्ने मागसहित म अदालत गएको हुँ।”
उनले आफ्नो रिटमा रास्वपाको केन्द्रीय कार्यसमिति, सभापति रवि लामिछाने, नव–मनोनित महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालगायतलाई विपक्षी बनाएका छन्। यद्यपि, सर्वोच्च अदालतको वेबसाइटमा भने निर्वाचन आयोग विपक्षी पक्षमा देखिएको छैन।
यसअघि निर्वाचन आयोगले ढकालकै नाममा पठाएको पत्रमार्फत उनी नै रास्वपाको आधिकारिक महामन्त्री रहेको प्रमाणित भएको थियो। तर सो विवरण सार्वजनिक भएपछि रास्वपाले आयोगलाई नयाँ विवरण पठाएको छ, जसमा बुर्लाकोटी र झालाई नयाँ जिम्मेवारी दिएको उल्लेख छ। आयोगले उक्त नयाँ विवरण अद्यावधिक गरिसकेको छैन।
प्रतिक्रिया