काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको घर जलाउन निर्मल निवासबाट व्यक्तिहरू पठाएको गम्भीर गम्बिर आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उनलाई राज्यले दिएको सेवा सुविधा समेत खोस्नुपर्ने बताएका छन्।
उनले पूर्वराजालाई सरकारले प्रदान गरेको सेवा सुविधा निरन्तर राख्ने कि खारेज गर्ने भन्ने विषयमा सरकारको स्पष्ट जवाफ मागेका छन्। भट्टराईले भने, “पूर्वराजा शाहलाई पूर्वराष्ट्राध्यक्षको रूपमा राज्यले सेवा सम्मान दिएको हो। तर, उनले सम्झौता भंग गरे। अब उनलाई प्रदान गरिएको सेवा सुविधा कायमै रहने कि कटौती गर्ने ? सरकारले यसबारे स्पष्ट निर्णय गर्नुपर्छ।”
सांसद भट्टराईले निर्मल निवासबाट केही व्यक्तिहरू माला लगाएर पठाइएको र तिनले घर जलाउने कार्यमा संलग्न भएको आरोप पनि लगाए। उनले थपे, “उनले लफंगाहरुलाई जनकमाण्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य गराए। यसले उनले सम्झौता भंग गरेको स्पष्ट देखाउँछ। अब उनलाई दिइने सेवा सुविधाबारे पुनर्विचार गर्नु सरकारको दायित्व हो ।”
यसैबीच, उनले नेपालको इतिहासलाई स्मरण गर्दै पृथ्वीनारायण शाह र बहादुर शाह बाहेकका राजाहरूले राष्ट्र जोगाउन नसकेको तर्क समेत राखे। “नेपालको सीमाना इतिहासमा कहाँ थियो र अहिले कहाँ छ?” भनी प्रश्न गर्दै उनले विगतका राजाहरूको भूमिकामाथि प्रश्न उठाए।
प्रतिक्रिया