काठमाडौं । पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्कँदै जाँदा नेपाली सेनालाई पनि चर्चा र विवादमा ल्याउन थालिएपछि जंगी अड्डाले मुख खोलेको छ । नेपाली सेनाले वर्तमान संविधानप्रति प्रतिवद्धतासमेत जनाएको छ ।
‘नेपाली सेनाको अनुरोध’ शीर्षकमा नेपाली सेनाका तर्फबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’
राजनीतिक विवादमा सेनालाई मुछ्न खोजिएको गुनासो गर्दै सेनाले भनेको छ, ‘विगत केही दिनयता विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तसर्थ, नेपाली सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ ।’
प्रतिक्रिया