• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अनिश्चितकालका लागि स्थगित

    461
    SHARES



    काठमाडौँ । उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएपछि माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित भएको छ।

    नयाँ नेतृत्व चयनका लागि भन्दै गत असोज १० देखि काठमाडौंको कीर्तिपुरमा सम्मेलन सुरू भएको थियो। बन्द सत्र सुरू भएलगत्तै अधिकांश प्रतिनिधिले उमेर हद कायम गर्नुपर्ने भन्दै ३२, ३० र २८ वर्षमध्ये एउटा उमेर कायम गर्न माग गरेका थिए। तर वर्तमान पदाधिकारी र अध्यक्षका अधिकांश प्रत्यासी ३२ वर्षभन्दा माथि भएकाले उनीहरू उक्त विकल्पमा जान मानेका थिएनन।

    यही विषयले उग्र रूप लिएपछि अनेरास्ववियु क्रान्तिकारीको सम्मेलनमा तीन दिनयता लगातार तोडफोड र हुलदंगा भएको थियो।

    परिस्थिति अनुकूल नभएको भन्दै निर्वाचन मण्डलले सूचना जारी गर्दै अनिश्चितकाललाई सम्मेलन स्थगित गरिएको जनाएको छ। नयाँ नेतृत्व छान्न काठमाडौंमा भेला भएका २३ सयभन्दा बढी प्रतिनिधि अब यत्तिकै फर्किने भएका छन्।

    सतहमा उमेर हदको विवाद ल्याइए पनि पार्टी नेतृत्वले आफूले चाहेको उम्मेदवारले जित्ने नदेखेपछि सम्मेलन स्थगित गरेको विद्यार्थी नेताहरूले आरोप लगाएका छन्। अनेरास्ववियु क्रान्तिकारीका १९ उपाध्यक्ष र एक जना महासचिव गरी २० जना अध्यक्षका दाबेदार थिए। तीमध्ये महासचिव दिपेश पुनलाई अध्यक्ष बनाउने चाहना माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव वर्षमान पुनको थियो।

    सहकारी प्रकरण र सुन काण्डमा मुछिएका कारण दिपेशलाई अस्वीकार गर्ने देखेपछि प्रचण्डले उपाध्यक्ष पवन कार्कीलाई अध्यक्ष बनाउन चाहेका थिए। उनी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अघि सारेका उम्मेदवार हुन्। तर कार्कीमा पनि सहमति हुने सम्भावना थिएन।

    विद्यार्थी संगठनमा उपमहासचिव जनार्दन शर्माको वर्चश्व छ। शर्माका तर्फबाट उपाध्यक्ष मदन भुल, मदन भट्टराई लगायत नेताहरू दाबेदार थिए। शर्माले आफ्ना उम्मेदवार भने तय गरिसकेका थिएनन्।

    शर्मा पक्षका विद्यार्थी नेताहरू पराजित हुने डरले अध्यक्ष प्रचण्डकै निर्देशनमा उमेर हदको कुरा ल्याइएको र सम्मेलन भाँडिएको आरोप लगाएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया