काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।
पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत-वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डा रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यायले बताए ।
यस्तै, महासमिति बैठक उद्घाटन भइसक्दा पनि कतिपय विषयमा सहमति जुटाउन नसक्दा महामन्त्रीहरूको राजनीतिक दस्तावेज तयार पार्न नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।
बैठक देउवा निवास बुढानीलकण्ठमा अपराह्न हुने उनीनिकट स्रोतले बताएको छ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा देउवाको असहमति छ।
थापाले प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धनसम्बन्धी विषय र शर्माको प्रस्तावमा रहेको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको सन्दर्भ हटाउनुपर्ने अडानमा देउवा छन्।
तर दुवै महामन्त्रीले यी विषयलाई प्रस्तावबाट हटाउन अस्वीकार गरेपछि कांग्रेसभित्र राजनीतिक प्रस्तावहरू सहमतिमै तयार पार्ने विषय थप पेचिलो बन्दै गएको छ। कांग्रेसले तयार पारेको कार्यतालिकाअनुसार मंगलबार बिहान ९ बजे बस्ने महासमिति बैठकमा सबै प्रस्तावहरू पेश गर्नुपर्नेछ।
तर अहिलेसम्म पनि सहमति नजुटेपछि सहमतिको उपाय खोज्न देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। यसअघि महामन्त्रीहरू थापा र शर्मासँग भएका एक्लाएक्लै छलफलमा सहमति जुट्न सकेको थिएन।
यस्तै, बैठकमा विवादित महासमिति सदस्यका बारेमा पनि छलफल हुने देउवा निकट स्रोतले बताएको छ। काठमाडौं ३, ओखलढुंगा र दोलखामा महासमिति सदस्यको विवाद छ ।
प्रतिक्रिया