• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुंगियो

    1.9K
    SHARES



    काठमाडौँ । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ ।

    लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुङ्गो लगाएको सचिवालय सहसचिव एवम् लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

    लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति रहेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा लगानी सम्मेलन सचिवालय रहेको छ ।

    लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठित कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिवको संयोजकत्वमा गठित मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

    सम्मेलनका लागि पूर्व तयारीका काम भइरहेका छन् । लगानी बोर्डको कार्यालयले गत शुक्रबार नेपालमा लगानी सम्भाव्यता पहिचान र आर्थिक विकासका लागि समन्वयात्मक रणनीति शीर्षकमा कार्यशाला आयोजना गरेको थियो ।

    यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा उपस्थित नभएपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।

    सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न मंगलवार मन्त्री शर्मालाई बैठकमा बोलाइएको थियो । तर, सञ्चारमन्त्री शर्मा अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित भइनन् । त्यसपछि समितिका सभापति भानुभक्त जोशीले बैठक स्थगित भएको जानकारी गराए ।

    त्यसअघि संसदीय समितिमा छलफलका लागि आमन्त्रित एमाले सांसद रघुजी पन्तले प्रतिनिधि सभा नियमावलीको व्यवस्थाअनुसार मन्त्रीको उपस्थिति विना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति जोशीको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिनिधि सभा नियमावली २०७९ को १७८ को (४) मा समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया