आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, अर्थात् ८ मार्च ! श्रमिक महिलाहरुका लागि यो दिन निक्कै विशेष छ । सामाजिक, राजानीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अवस्था र सहभागिता बलियो बनाउँदै लैजानका लागि वकालत गर्ने अर्थात आम महिलाको सवलिकरणको पक्षमा आवाज बुलन्द गर्ने विशेष दिनको रुपमा मार्च ८ लाई लिन सकिन्छ ।
सोच्नुहोस् त ! सन् १८५७ मा ८ मार्चको दिन अमेरिकाको सुती कपडा उद्योगमा काम गर्ने श्रमिक महिलाहरुले समानताको आन्दोलनको थालनी नगरेका भए के हुन्थ्यो ? अहिले पनि हामी उही ढुंगे युगमा जस्तै दासी प्रथा, सती प्रथाको सिकार भइरहेका हुन्थ्यौं तर आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई महिलावादी आन्दोलनको जन्मदाताको रुपमा मनाइरहेका छौं, यो हाम्रो पुस्ताका लागि निक्कै गर्वको कुरा हो । विश्वभरका महिलाले यो दिनलाई आफ्ना अधिकारको खोजी र विभेद विरुद्ध बोल्ने दिनको रुपमा लिने गरेका छन् ।
नेपाली समाजमा महिलाप्रति गरिने विभेदको स्वरूप निक्कै भयानक छ । छोरी चेली जन्मिदै ‘लक्षिन’ कि ‘कुलक्षिन’ बाट सुरु हुने विभेद विस्तारै लगाउने पहिरन, खाने खाना, पाउनुपर्ने शिक्षा र विभिन्न अवसर अनि समानता हुँदै वैवाहिक जीवनसम्म आइपुग्दा ‘म महिला हुँ, यसकारण मैले यो सब सहनुपछ’ भन्ने दासी मानसिकताले दिमागमा भयङ्कर ठुलो असर पारिसकेको हुन्छ । जसकारण आमा महिलाले नै छोरी महिला र सासु महिलाले नै बुहारी महिलालाई बोकाउने रुढीबादीग्रस्त परम्परा र संस्कारका भारीहरु, बार बन्देज, सिमाहरु एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएका छन् ।
यी सबै विभेदहरु हट्न र लैंगिक असमानताग्रस्त सोच परिवर्तन हुनका लागि चाहिने शिक्षा सबैको पहुँचमा पुग्न नसकेकै कारण नेपाली महिलाहरु विभेदपूर्ण जीवन विताइरहेका छन् भन्दा अनर्थ नहोला । त्यति मात्रै होइन अधिकांश महिलाहरुको ‘परनिर्भर’ सोच नै महिलालाई अवसरबाट बन्चित गर्ने सबैभन्दा ठुलो सत्रु हो ।
तर अहिले नेपाली समाजमा कितावी ज्ञान र ठुल्ठुला भाषणहरुले ल्याउन नसकेको परिवर्तन पछिल्लो समय सामाजिक सञ्जालले छोटो समयमै ल्याइदिएको छ । गृहस्ती मात्रै सम्हालेर चुलोचौकोमा सिमित महिलाहरु अहिले आफ्नो दैनिकीको भ्लगिङ्ग गरिरहेका छन् । अहिले हामीले युट्युबमा सर्च गर्ने हो भने ढिडो पकाउने तरिकादेखि बिभिन्न अचार बनाउने रेसिपीहरुबारे गृहणी महिलाहरुले भ्लग बनाएको देखिन्छ ।
त्यस्तै टिकटक र फेसबुक रीलले त पछिल्लो समय नेपाली महिलाहरुलाई स्वतन्त्रताको दरिलो पाठ सिकाएको देखिन्छ । सकारात्मक कुरामा समेत श्रीमानको अगाडी ठाडो टाउको गर्न र दोहोरो बचन फर्काउनु हुँदैन भन्ने सोच भएका महिलाहरु समेत श्रीमानको हात समाउदै नाचेको, बिभिन्न डायलगहरु बोलेको र तिनै भिडियोहरु भाइरल भएको देख्दा बडो आनन्द लाग्छ । सानो कीप्याड मोबाइल चलाउन नजान्ने आमा दिदिहरु आज स्मार्ट फोन बोकेर भ्लगिङ्ग गर्नु, भिडियो बनाउनु र तिनै भिडियोहरुबाट पैसा समेत कमाउनु भनेको सानो कुरा होइन ।
त्यति मात्रै नभएर आफूमाथि भएका र हुन् लागेका अन्याय, बिभिन्न खाले हिंसा अनि विभेदपूर्ण व्यवहारबारे उनीहरु खुलेर बोल्न थालेका छन् । जसकारण ‘बोल्नुपर्छ’ भन्ने सोचको विकास भएको छ, एकातिर यो निक्कै सकारात्मक पाटो हो । तर अर्कोतिर भने यसको ठिक विपरित स्टाइलिस्ट लुगाफाटो, गरगहना र दाइजोको तडकभडकले महिलाहरुलाई फेरी दासत्वतिर धकेल्दै गइरहेको अनुभूति हुन थालेको छ । अरुले किनिदिएको महँगो लुगा, बनाइदिएको गरगहना र पाएको दाइजो भए पुग्छ भन्ने सोच हावी भएका महिलाहरु आत्मनिर्भर हुन सकेका छैनन् । हाम्रो समाजमा अहिले पनि यस्तै सोच भएका महिलाहरुको संख्या बढी छ ।
‘श्रीमानले किनिदिनु हुन्छ, बाउ आमाले दिहाल्नुहुन्छ’ भन्ने बुझाइ राख्ने महिला प्राय आत्मनिर्भर हुन चाहदैनन् । जब एउटा महिला आत्मनिर्भर हुन सक्दैन त्यहाँबाट नै उसको मनोबल र आत्मसम्मान कमजोर हुन थाल्छ र उ परिवार, समाज र देशमा ‘दोस्रो दर्जा’को भएर बाच्ने गर्दछ ।
सामाजिक, राजानीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समानता खोज्ने हो भने ‘मेरा लागि म’ भन्ने अठोट अनिवार्य हुनुपर्छ । जब एउटा महिला आफ्नो लागि आफै खडा हुने हिम्मत राख्दछ तब मात्रै उसले अरुका बारेमा बोल्न सक्दछ । यी सबै चिज तब मात्रै सम्भव छन् जब हामी आत्मनिर्भर हुन सक्छौं । एउटा महिला जब ‘सेल्फ डिपेन्डेन्ट’ हुन्छ, तब उसको सेल्फ कन्फिडेन्सले एउटा लेबल कायम गरिसकेको हुन्छ र उ आत्मसम्मान साथ बाँच्नसक्दछ। किन कि आत्म निर्भर हुन् उसले गरेको संघर्षले उसलाई जीवन के हो ? भन्ने पाठ पढाइसकेको हुन्छ । तबसम्म उसले विभेद, असमानता र अन्याय के हो भन्ने कुरा पनि निक्कै मिहिन ढङ्गले बुझिसकेको हुन्छ, त्यति बुझिसकेपछि कुन अन्याय र कुन विभेदका बिरुद्ध कसरी लड्ने भन्ने चेतनाको समेत विकाश भइसकेको हुन्छ । नत्र कतिपय महिलाहरुले ममाथि कुन प्रकारको विभेद, शोषण या अन्याय भइरहेकाे छ ? भन्ने हेक्का समेत राखेका हुदैनन् ।
एउटा महिला महिला मात्रै होइन, उ आमा हो, दिदीबहिनी हो जीवन संगिनी हो ! उ जब गरगहना, दाइजो र महंगा स्टाइलिस्ट लुगाकपडाको तडकभडकभन्दा माथि उठेर सोच्छ तब मात्रै उ नेतृत्वदायी भूमिकामा पुग्छ र उसले नेतृत्व गर्ने परिवार, समाज र राष्ट्र आफै परिवर्तको दिशामा अगाडी बढ्छ । त्यसकारण यो ८ मार्चको अवसरमा फेरी पनि दाइजो, स्टाइलिस्ट लुगाफाटो र गरगहनाभन्दा माथि उठेर आत्मनिर्भर बन्न म सबै महिलाहरुमा अपिल गर्न चाहन्छु । साथै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, ८ मार्चको अवसरमा सबै श्रमिक महिलाहरुमा शुभकामना !
प्रतिक्रिया