• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आकस्मिक पत्रकार सम्मेलन गर्दै गर्भनर अधिकारी

    1.6K
    SHARES



    काठमाडौं । तीव्र आर्थिक संकटकाबीच बढेको बैंक ब्याजदरका विरुद्ध उद्योग व्यवसायीसँगै आम सर्वसाधारण समेत सडक संघर्षमा उत्रिरहेका बेला केन्द्रीय बैंकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।

    गभर्नर महाप्रसाद अधिकारीले मंगलबार दिउँसो पत्रकार सम्मेलन नै गरेर केन्द्रीय बैंकको धारणा सार्वजनिक गर्ने भएका हुन् । दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ ।

    समस्याग्रस्त आर्थिक स्थितिका बाबजुद केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति लिन सक्ने अपेक्षा सबैको छ । यद्यपि, केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले आयोजना गर्ने पत्रकार सम्मेलनमा मुलुकको वास्तविक आर्थिक स्थितिको चित्रण हुने केन्द्रीय बैंक स्रोतले जनाएको छ ।

    गभर्नरको आजको विशेष भनिएको पत्रकार सम्मेलनमा ८ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक हुनेछ । ‘मुलुकको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा’ विषयक पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको माइक्रो इकोनोमी, वित्तीय रिपोर्ट सार्वजनिक गर्ने र फोरममा उठेका प्रश्नमा गभर्नर अधिकारीले जवाफ दिने कार्यक्रम रहे को पनि जनाइएको छ ।

    ‘बिग्रँदो आर्थिक स्थिति सुधार्न केन्द्रीय बैंकको अबको भूमिका के कस्तो रहन्छ, के गर्छ ? भन्ने सवालमा उक्त फोरममै प्रश्न उठ्ला । बढेको ब्याजदर घटाउन, वित्तीय सुधारका खातिर केन्द्रीय बैंकले अपनाउने नीतिहरूको बारेमा समेत गभर्नर साबले सोही फोरममा विचार राख्नुहोला’ स्रोतले भन्यो, ‘तर आजको विशेष भनिएको पत्रकार सम्मेलन ८ महिनाको वास्तविक आर्थिक स्थितिको रिपोर्ट सार्वजनिक गर्ने कार्यक्रम नै हो’ स्रोतको दाबी छ ।

    तर, यता बजारमा समस्याग्रस्त आर्थिक स्थितिका बाबजुद गभर्नर अधिकारीले आज डाकेको आकस्मिक पत्रकार सम्मेलनले आर्थिक सुधारका खातिर केहीँ खास रणनीति लिने अपेक्षा गरिएको छ । बैंक ब्याजदर घटाउने, आयात निर्यातको रणनीतिमा केही फेरबदल गर्ने र वित्तीय औजारहरूको परिचालनमार्फत वित्तीय सहजीकरणका लागि केन्द्रीय बैंकले केही अप्रिय निर्णय समेत लिन सक्ने अपेक्षा गरिएको छ ।

    यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा आजदेखि सुरु हुँदै छ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासङ्घको ५७ औँ साधारणसभाले महासङ्घको नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

    आजबाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने भोलिबाट निर्वाचन हुने भएको हो ।

    वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन् । यसरी निर्वाचित हुने महासङ्घको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

    साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला-नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक-एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ