• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विराटनगरमा तासको खालमा प्रहरी पुग्दा भागदौड, एक जनाको मृत्यु, एकको खुट्टा भाँचियो

    206
    SHARES



    विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानबाट प्रहरीले पक्राउ गरेका एक जनाको मृत्यु भएको छ । एक जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।

    विराटनगरको सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको स्थानमा सोमबार राति साढे ११ बजे प्रहरी गस्ती टोली पुगेपछि भागदौड मच्चिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

    भागदौडका क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मङ्गलबार बिहान नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    प्रहरीका अनुसार सुरुमा स्वास्थ्य जाँच गराएर हिरासतमा राखिएका कोइराला मङ्गलबार बिहान साढे ७ बजे अचेत अवस्थामा भेटिएका थिए। उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल पुर्‍याइएका उनलाई बिहान ११ बजे चिकित्सकले मृत घोषित गरेका हुन्। यसअघि टाउकाको शल्यक्रिया भइसकेका कोइरालाको मृत्युको स्पष्ट कारण भने खुल्न बाँकी छ।

    यस्तै, प्रहरीलाई देखेर घरको दोस्रो तलाबाट हामफाल्दा विराटनगर–८ का ४१ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियाको दाहिने खुट्टा भाँच्चिएको छ। उनको श्री अस्पतालमा उपचार भइरहेको छ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उक्त स्थानबाट प्रहरीले ४८ हजार ३९५ रुपैयाँ नगदसहित कुल ८ जनालाई नियन्त्रणमा लिएको थियो।

    पक्राउ पर्ने अन्य व्यक्तिहरूमा साजन राजवंशी, सत्यनारायण राजवंशी, तोरण यादव, राजेश कामत, गंगाराम मण्डल र विष्णु कामत रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ